Logo
Logo

दृष्टिको कागज किर्ते गरी अस्ट्रेलिया जान खोज्नेलाई  कारबाही गर्न प्रहरीमा पत्राचार 


882
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले दृष्टि मिडियाको नक्कली कागजपत्र बनाउनेलाई अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

दृष्टि प्रकाशनको लेटर प्याड, छाप र हस्ताक्षरसमेत नक्कली बनाई अस्ट्रेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई पत्राचार गरेको हो । 

गलत व्यक्तिहरूले किर्ते गरी आफ्नो लेटर प्याड, प्रेस पाससमेत दुरुपयोग भएपछि दृष्टि प्रकाशन काउन्सिल पुगेको थियो । 

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा रहेको आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकले यसबारे निर्णय लिएको हो । 

दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन पोर्टल दृष्टि न्युजको परिचयपत्र, वर्किङ एक्सपियरेन्स, लेटरलगायतका नक्कली कागजपत्र बनाई बाग्लुङका कृष्ण भण्डारी, पर्वतका नामबहादुर पुन, धादिङका सुरेन्द्र तामाङ र बाग्लुङकै थम प्रकाश छन्त्यालले अस्ट्रेलियाका लागि भिसा अप्लाई गरेका थिए । 

उनीहरूले अप्लाई गरेको कागजपत्र अस्ट्रेलियन उच्च आयोग नयाँदिल्लीले ‘भेरीफाई गरिदिन’ भन्दै दृष्टि मिडियालाई पठाएको थियो । जसमा उनीहरूले सम्पादक, रिपोर्टर, क्यामेरामेन लगायतको आफूखुसी दर्जा दिएका छन् भने ती कागजपत्रमा दृष्टि मिडियाको छाप र हस्ताक्षर नक्कली गरिएको छ ।

ती कागजपत्र सरकारी लोगोसमेत प्रयोग गरिएको छ । नब्बे हजारदेखि एक लाख पाँच हजार रुपैयाँसम्म तलब लिएको कागज पत्र उनीहरूले पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्