Logo
Logo

बोस्नियामा बाढीपहिरोका कारण १४ जनाको मृत्यु


252
Shares

एजेन्सी । भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण बोस्नियामा शुक्रबार कम्तिमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

साराजेभोबाट करिब ७० दक्षिणपश्चिममा रहेको जबलानिकाले निरन्तर २४ घण्टा भारी वर्षाको सामना गर्नुपरेको थियो । जबलानिका क्षेत्रको स्थानीय सञ्चारमाध्यमले पहिरोमा परी घर, मस्जिदआदी पूर्वाधार ध्वस्त भएको तस्बिर प्रसारण गरेको छ ।

‘हालसम्म १४ जनाको शव फेला परेको छ’, जबलानिका क्षेत्रमा प्रवक्ता डार्को जुकानले मृत्युको सङ्ख्या बढ्ने सम्भावना व्यक्त गर्दै बताए ।

यस क्षेत्रका धेरै मानिसहरू बेपत्ता भएको जानकारी आएको छ । अधिकारीहरूले केही घाइतेलाई युरोपेली आयोग शान्ति सेना (युएफओआर) को हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिएका छन् ।

मध्यमा डोन्जा जाबलानिका गाउँमा शुक्रबारको अवस्था दयनीय रहेको प्रवक्ताले बताए ।

साराजेभोबाट करिब २० किलोमिटर पश्चिममा रहेको किसेलजाकमा घर, गाडीहरु डुबानमा परेको एएफपीका एक सञ्चारकर्मीलाई बताए ।

बोस्नियाको जनसङ्ख्याको ठुलो हिस्सा बाढीपहिरोका कारण जोखिममा रहेको सङ्घीय नागरिक सुरक्षा प्रशासनले एक विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

अग्निनियन्त्रक, प्रहरीलगायत अन्य सहयोगी निकायले प्रभावित क्षेत्रमा सहायताको काम गरिरहेका छन्, तर आँधीबेहरी र वर्षाको परिणाम कम गर्न थप सहयोग आवश्यक रहेको सङ्घीय नागरिक सुरक्षा प्रशासनले बताएको छ ।

त्यसैगरी छिमेकी क्रोएसियामा मौसम अधिकारीहरूले भारी वर्षाको कारण उत्तरी एड्रियाटिक तट, इस्ट्रिया प्रायद्वीप र देशको मध्य भागका लागि आपतकालिन चेतावनी जारी गरेका छन् ।

यसले सहरी बाढीका कारण यातायात, सञ्चार, बिजुली र पानी आपूर्तिमा अवरोध हुने अपेक्षा गरिएको विज्ञप्तीमार्फत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्