Logo
Logo

ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस् : खानेपानीमन्त्री


252
Shares

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल खानेपानी आपूर्तिमा सहयोग गर्न आग्रह गरेका छन् ।

दक्षिणकाली नगरपालिकामा आज आयोजना गरेको जनप्रतिनिधि, स्थानीय नागरिकसँगको गहन छलफल कार्यक्रममा मन्त्री यादवले हालैको बाढीपहिराले खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेको र ललिपुर क्षेत्रमा दक्षिणकालीबाट जाने पानी रोकिएकाले उक्त पानी तत्काल आपूर्तिमा सहयोग गरिदिन आग्रह गरे ।

खानेपानीको प्यासामा कोही तड्पाई रहेका छन्भने त्यसलाई आफूसँग भएको पानी दिनु सबैको कर्तव्य हुने भएकाले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकले ललितपुर क्षेत्रका नागरिकलाई पानी आपूर्ति गर्ने विषय एउटा मानवीय धर्मको विषय भएको बताए । उनले भने, ‘विगतमा हाम्रा कर्मचारी, केयुकेएलका कर्मचारी एवं प्रतिनिधिबाट केही समस्या भएको होला । त्यसैले अहिले दक्षिणकालीका नागरिक ललितपुरमा पानी पठाउन रुष्ट भएका हुन सक्छन् । तपाईँका समस्या के हुन् ? समाधानका लागि म पहल गर्नेछु । कृपया म हात जोडेर भन्छु । ललिपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस् ।’

बाढीपहिरोलगायत समस्याले अहिले देश बिपद्मा र समस्यामा परेकाले हामी सबै नेपालीले एक अर्कालाई मानवीय सहयोग गर्नका लागि एकजुट हुनुपर्ने मन्त्री यादवको भनाइ थियो । ‘अविरल वर्षाका कारण गएको बाढी पहिराले देशका २१ जिल्ला प्रभावित भएका छन् । हामी बिपद्को घडिमा छौँ, नागरिक पानीका लागि तड्पिइ रहेका छन् । तपाईरूसँग पानी छ । अहिले नागरिकलाई पानी दिन तपाईहरूको सहयोग आवश्यक छ’, उनले भने ।

यसैगरी मन्त्री यादवले केही दिन पहिले गएको बाढीपहिरोका कारण दक्षिणकालीमा खानेपानीको क्षेत्रमा भएका तथा अन्य समस्याका विषयमा सरकारले मन्त्रीपरिषद्को निर्णयबाट आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको जानकारी दिए । उनले भने ‘बाढीपहिरोले भएको क्षतिका विषयमा सरकारद्वारा आवश्यक सहयोग गर्ने निर्णय भएको छ । सम्पूर्ण क्षतिको लागत तयार गर्नुहोला, मैले जतिसक्दो चाडो समस्या समाधान गराउन पहल गर्ने छु ।’

दक्षिणकालीमा खानेपानीका भएका क्षतिको मर्मत सम्हारका लागि तत्काल काम थाल्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेकाले बाढीले भत्काएका र बिगारेका खाने पानीका मुहानका काम सूचारु हुनेमा ढुक्कसमेत हुन मन्त्री यादवले सबैमा आग्रह गरे ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले दक्षिणकाली नगरपालिकाका समस्या सम्बोधन गर्न आफूले सङ्घीय सरकारसँग सहजीकरण र समन्वय गर्ने बताए । उनले भने, ‘दक्षिणकालीमा बाढीपहिरोका कारण भएका क्षतिका समस्या समाधन गराउन हामी हाम्रातर्फबाट सङ्घीय सरकारसँग सहजीकरण गछौँ, पानी पठाउन तपाईहरु सहयोग गर्नुस् ।’

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न आफू सदैब तयार रहेको बताए । उनले भने, ‘दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न हामी सदैब तयार छौँ, आजैदेखिण् पानी सञ्चालन गरी दिन म तपाईँलाई विषेश अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्