Logo
Logo

बाढी,पहिरोका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण गर्न माओवादीको आग्रह


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  

आइतबार सिंहदरबारमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई बाढी, पहिरो र डुबानका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको सन्दर्भमा विपत् प्रतिकार्य, पुनर्स्थापना, पुनर्निर्माणलगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

सरकार एक्लैको प्रयासले विपत् व्यवस्थापन सम्भव नहुने भएकाले विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको माओवादीले जनाएको छ । त्यस्तै माओवादीले राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडित जनताहरूलाई दसैँ अघि नै राहत दिन माग गरेको छ ।

बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्गहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मर्मतको कार्यमा तीव्रता दिनुपर्ने, बिभिन्न राजमार्गमा अलपत्र परेका सवारी साधन र यातायात मजदुरलाई राहत एवं उद्धार कार्य युद्धस्तरमा अगाडि बढाउन माओवादीले सरकारको ध्यानाकर्षण गराएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

उनले बाढी र पहिरोका कारण क्षति भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको हेडवक्स निर्माण गरि सञ्चालनमा ल्याउन पनि माग गरिएको बताए । 

माओवादीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विपदका् न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताएका थिए । सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्