Logo
Logo

दुर्गा प्रसाईँका समर्थकले आगजनी गर्दा घाइते भएका ट्रक चालकको मृत्यु


819
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समर्थकले दुई साताअघि झापामा गरेको आगजनीमा परेका एक भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्द गर्ने भन्दै आन्दोलनमा उत्रिएका उनका समर्थकले यही असोज ७ गते गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगजनी गर्दा गम्भीर घाइते भएका ४० वर्षीय पदा रायको उपचारको क्रममा मृत्यु भएको हो ।

डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएका रायको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई सुरुमा बिर्तामोडकै बीएण्डसी अस्पतालमा उपचार गरेर पछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।

मृतक रायका आफन्तले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक भारतको पानीटंकीतर्फ शव राखेर प्रदर्शन गरेका थिए । उनीहरूले आधाघण्टासम्म नाकामा अवरोध गरेका झापा प्रहरीले जनाएको छ ।

पछि नेपाल र भारतीय प्रहरीको समन्वयमा रायको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको थियो । उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्