Logo
Logo
सेक्मुरी युन्छो-२०२४

हाक्पारे र ख्यालीमा यस्तो देखिए तेह्रथुमे ढाका पहिरनमा मोडलहरु (फोटो फिचरसहित)


1.7k
Shares

काठमाडौं । यही गएको अक्टुबर ५ तारिख अर्थात शनिबार । दिन ढल्किँदै गर्दा हङकङको व्यस्त सहर जोर्डनस्थित ‘ब्लू ओसन रेष्टुरेण्ट एण्ड बार’ नेपालीहरुले भरिभराउ हुँदैथियो । हङकङमा बस्दै आएका नेपालीहरु आफ्नो काम थाँती राखेर पनि हतारिँदै ‘ब्लू ओसन रेष्टुरेण्ट’मा इन्ट्रि गरिरहेका थिए । आगन्तु तथा अतिथिहरु भेला भइरहँदा धिपधिपे बत्तीसँगै मधुर संगीत गुन्जिन सुरु भइसकेको थियो ।

छिनभरमै बारको हल भरिभराउ भयो । उद्घोषले अतिथि तथा आगन्तुक पाहुनालाई धैर्य धारण गर्न आग्रह गर्दै भनिरहेका थिए, ‘कार्यक्रममा केही बेरमै सुरु हुँदैछ, धैर्य गर्नुहोला ।’ जहाँ हुन गइरहेको थियो– सेक्मुरी युन्छो–२०२४ । अर्थात, नेपालको चर्चित फेसन बुटिक ‘तेह्रथुमे ढाका बुटिक’को एकल फेसन शो । चहलपहल बढ्दै गर्दा मोडलहरु रन–वेमा उत्रँन शृँगारपटार गरी तम्तयार भइसकेका थिए ।

बाहिरी अँध्यारोले छोप्दै गर्दा स्टेज उज्यालिँदै थियो । जब कार्यक्रम प्रस्तोता सेसेमी लिम्बूले कार्यक्रम सुरु भएको उद्घोष गरिन्, तब हल तरंगित भयो । र, मधुर म्युजिकसँगै माहोल तेह्रथुमे ढाका फेसनमय बन्यो । याक्थुङ आर्टिस्ट सोसाइटी हङकङको आयोजनामा ‘सेक्मुरी युन्छो–२०२४’मा सांगीतिक कार्यक्रमबीच करिब दुई दर्जन मेल तथा फिमेल मोडलहरु तेह्रथुमे ढाका बुटिकको पहिरनमा ¥याम्पमा उत्रिएका थिए ।

तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा डिजाइनर निर्मला लिम्बू आङबुङ (निरु)ले तयार पारेका कल्चरल तथा सिर्जनशील ढाका पहिरनमा मोडलहरु धपक्कै बलेका थिए । फिमेल मोडलहरु ढाका सारी, मेख्ली, टप्स, वानपिस, लेहेँगा जस्ता पहिरनमा प्रस्तुत भएका थिए भने मेल मोडलहरु दाउरा सुरुवाल, कोट लगायतका टिपिकल नेपाली पहिरनमा प्रस्तुत भएका थिए । मोडलहरुको एकसेएक प्रस्तुतीमा दर्शकले भरपूर्ण मनोरञ्जन लिएका थिए ।

मोडलहरुलाई -याम्पमा उतार्ने काम सञ्चारकर्मी एवं कोरियोग्राफर युगल पोमू र माया खापुङले गरेका थिए, अर्थात युगल र मायाको करिब महिना दिन लामो कोरियोग्राफीपछि मोडलहरु ¥याम्पमा उत्रिएका थिए ।

कल्चरल पहिरनहरु प्रस्तुत गरिएको ‘सेक्मुरी युन्छो’ अन्य फेसन शोहरुभन्दा फरक र भिन्न थियो । मोडलहरुको प्रस्तुती मात्र होइन, ब्याकराउण्ड म्युजिकले पनि कार्यक्रमको बेग्लै रौनकता थपेको थियो । जबकि, प्रायः फेसन शोहरुमा चर्को अंग्रेजी संगीतमा मोडलहरुलाई क्याटवाक गराइन्छ, तर सेक्मेरी युन्छोमा भने लिम्बू कल्चरल तथा मौलिक संगीत, जस्तै हाक्पारे र ख्यालीमा मोडलहरुले -याम्प नापेका थिए । कार्यक्रममा ब्राइडल र बृद्धहरुको एस्क्ट्रा सिक्वेन्स पनि गजब थियो ।

मोडलहरुको प्रस्तुती र लिम्बू कल्चरल संगीतको मिश्रणले यस्तो अनुभूति गराएको थियो कि, ‘चाइनिजहरुको सहर हङकङ होइन, कुनै पुर्वको लिम्बू बस्तीमा छु ।’

करिब चार घण्टा चलेको कार्यक्रममा नेपालबाट गएका कलाकार र त्यही बस्दै आएका कलाकारले दम्दार सांगीतिक तथा नृत्य प्रस्तुती दिएका थिए । यही कार्यक्रमका लागि नेपालबाट फेसन डिजाइनर निरुसँगै गायक विकास लिम्बू, गायिका अन्नु चौधरी र कार्यक्रम सञ्चालिका सेसेमी लिम्बू हङकङ पुगेका थिए ।

ललितपरको तिखेदेवलस्थित तेह्रथुमे ढाका बुटिकको यो पहिलो सोलो फेसन शो हो । सेलिबे्रटीदेखि सर्वसाधारणसम्म लोकप्रिय रहेको तेह्रथुमे ढाका बुटिकले नेपालमा हुने विभिन्न इभेन्टहरुमा सहभागी जनाउँदै आएको छ । ‘मिस लिम्बू’लगायतका केही सौन्दर्य इभेन्टहरुमा अफिसियल पहिरन डिजाइनरका रुपमा काम गर्दै आएको तेह्रथुमे ढाका बुटिकले यसपटक भने अन्तर्राष्ट्रिय स्टेजमा एकल प्रस्तुती दिएको हो ।

कार्यक्रमको मुख्य उद्देश्य थियो, ‘ढाका पहिरनको प्रवद्र्धन तथा बजारीकरण गर्ने ।’ कार्यक्रम सोचेभन्दा राम्रो र भव्य भएको डिजाइनर निरुले बताइन् । उनले भनिन्, ‘कार्यक्रम एकदमै राम्रो भयो । कार्यक्रमलाई भव्य र सभ्य बनाइदिने याक्थुङ आर्टिस्ट सोसाइटी हङकङप्रति आभार व्यक्त गर्दछु ।’

‘सेक्मुरी युन्छो–२०२४’का आइसा गुरुङ, जेनिफर लिम्बू, माहाङमा लिम्बू, क्रस लिम्बू, सपनील गुरुङ, दिक्षा लिम्बू, रिया बलाल, रेश्मा साम्पाङ, रिजा प्रधान, अर्पणा राई, सन्देश लिम्बू, रोमन लावती, विश्वास गुरुङ, रोमन पुन मगर, यज्ञ बराइली, ओम गुरुङ, अर्जुन गौमत, निरुपम राई लगायतका मोडलहरु तेह्रथुमे ढाकाको पहिरनमा क्याटवाक गरेका थिए ।

कार्यक्रमका संयोजक हेमराज अन्छङबोले कार्यक्रम सोचेजस्तै भव्य भएको जानकारी दिए । उनले भने, ‘यो पहिलो कार्यक्रम हो, तर राम्रो र सफल भयो ।’ कार्यक्रम सफल पार्नका लागि विभिन्न व्यक्तिहरुको साथ र सहयोग रहेको उनले बताए ।

यस कार्यक्रमका लागि सह–निर्देशक कलाकार मौसम इम्बुङ (फुलेन्देको बाउ) शम्सेर तुम्बाहाम्फे, हिम सिंगक, नन्द चङसु र रमेश सिंगक बजार व्यवस्थापक (मार्केटिङ)को भुमिका निर्वाह गरेका थिए ।

त्यस्तै, माया खापुङ, लिलिश कन्दङवा, सुमन वनेम र मनुता काम्बाङले पब्लिक रिलेशनको जिम्मेवारी वहन गरेका थिए भने बरधोज ओख्राबु र पृथ्वी इङनामको व्यवस्थापन रहेको ‘सेक्मुरी युन्छो’ फेसन शोका लागि ट्रफि र सर्टिफिकेटको जिम्मेवारी मौसमले लिएका थिए । -तस्बिरहरु एमसुट फोटोग्राफीबाट साभार

प्रतिक्रिया दिनुहोस्