Logo
Logo

नेपाल बारलाई ‘ब्याकफायर’


693
Shares

काठमाडौं । न्याय सेवामा निष्कलंक छवि बनाएका विश्वम्भरप्रसाद श्रेष्ठले नेपाल बारको अपमान सहँदै प्रधानन्यायाधीशबाट भर्खरै अवकाश लिए । अवकाशको मुखमा श्रेष्ठमाथि बार काउसिन्सलका अध्यक्ष गोपालकृष्ण घिमिरेले गरेको निकृष्ट व्यवहार र झुठो आरोप अध्यक्ष घिमिरेका लागि ‘व्याक फायर’ भएको छ ।

बार काउसिन्सलका अध्यक्ष घिमिरेविरुद्ध न्यायाधीश मात्र नभै लब्धप्रतिष्ठित कानुनव्यसायीले समेत मुख खोल्न थालेका छन् । श्रेष्ठ घर फर्किने दिन नजिक आइपुग्दा बार अध्यक्ष घिमिरेले न्याय परिषद नियमावलीको अत्तो थापेर शुरु गरेको कथित आन्दोलन अवकाससँगै फासफुस भएको छ । आन्दोलनमा वरिष्ठ अधिवक्ता नै नआएपछि ‘स्केप’ हुने बहाना खोजिरहेका बेला प्रधानन्यायाधीश श्रेष्ठको अवकासले केही राहतसमेत दिएको छ ।

नभए घिमिरेविरुद्ध प्रधानन्यायाधीश श्रेष्ठले कडा कदम चाल्न पनि सक्थे । बारको आन्दोलनलाई कतिपय अग्रज कानुनव्यवसायीले अध्यक्ष घिमिरेको दम्भ र बालहठसँग जोडेर समेत आलोचना गरेका छन् । संस्था सुधार भन्दा पनि व्यक्तिलाई ‘टार्गेट’ गरिएका कारण श्रेष्ठको अवकाससँगै बारको आन्दोलनले हावा खाएको ठहर उनीहरुको छ ।

पूर्व महान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता राघवलाल बैद्यले नेपाल बारको बर्तमान नेतृत्व बैगुनी मात्र नभै असाध्यै ढिपि, निर्विवेकी र अहंकारले मात लागेको टिप्पणी फेसबुकमार्फत गरेका छन् । बैद्यको टिप्पणी बार भन्दा पनि घिमिरेको अहंकारप्रति लक्षित छ । यो टिप्पणीले बार अध्यक्षसँगै संस्थाको हैषियतमाथि नै गंभिर प्रश्न खडा गरिदिएको छ ।

वैद्यले घिमिरेमाथि सामाजिक सञ्जालमा यसरी टिप्पणी लेखेका छन्, ‘नेपाल बारको खासगरेर वर्तमान नेतृत्व बैगुनी मात्र हैन असाध्यै ढिपि र जमातको निर्विवेकी मात लागेको अहंकारले गन्तव्य भ्रमित एवम आत्म संयम डगमगाएको धङधङी जस्तो भएको हो कि जस्तो लागेको छ । केही गुमे जस्तो कुण्ठा र ग्लानीको टेकोले कुन्नि कतिन्जेल घिस्रन्छ मित्रको जिन्दगी ?

बैद्यले श्रेष्ठको सेवा निवृत जिवनको सदा झैं गर्विलो बनिरहोस् भन्ने शुभकामना समेत दिएका छन् । अर्का वरिष्ठ अधिवक्ता एवम् उपभोक्ता अधिकारका अभियन्ता ज्योति बानियाँले पनि घिमिरेमाथि कडा टिप्पणी गरेका छन् । बानियाँले आन्दोलनसँग जोडेर ‘बार बैगुनी हुदै गएको हो ?’ भन्दै सामाजिक सञ्जालमा लामो टिप्पणी लेखेका छन् ।

‘अदालतबाट अवकाशमा जाने सबै न्यायाधीशहरुलाई के बार वैगुनि हुदै गएको हो ? भन्ने लाग्दो होला । हिजोबाट अबकाशप्राप्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सायद बढी नै परेको होला,’ वरिष्ठ अधिवक्ता बानियाँको टिप्पणी छ । बानियाँले आफ्नो कार्यकालमा एउटा मुद्दामा अनुचित भयो भन्ने गुनासो गर्न दिएनन्, विश्वनाथ उपाध्यायपछि बारले भनेकै ठाउँमा सर्वोच्च परिसरभित्र नयाँ भवन बनाउन जग्गा दिएँ ।

प्रधानन्यायाधीश, मुख्यन्यायाधीश र जिल्ला न्यायाधीशलाई पेशी तोक्ने अधिकार खोसेर मेसिनले तोक्नेगरि ‘अटोमेशन’मा लगेँ, बारका साथीहरूले भने जस्तै काम गरेँ, तर अवकाशमा जाने बेला फत्तुर आरोप लगाइयो ।’

बानियाँले पछिल्लो बर्षका केही घटनाहरुमा बारको अडान ठिक हुँदाहुँदै पनि धेरै प्रकरणमा बार नेतृत्वले ‘बैगुनी संस्कृति’ विकास गर्दै गएको भन्दै दुःख मनाउ गरेका छन् । बानियाँ लेख्छन्, ‘मेरो ख्यालमा विश्वम्बर श्रीमान् पनि त्यसैको चपेटामा पर्नुभयो ।’

यी दुईवटा टिप्पणी बार अध्यक्षको विरोधमा गरिएका दृष्टान्तमात्र हुन् । सामाजिक सञ्जालदेखि चिया पसलसम्मै घिमिरेको आलोचनाको बाढी चलेको छ । आफ्नै अध्यक्षविरुद्ध कानुन व्यवसायीले नै गरेका आलोचना घिमिरेका लागि भारी भएको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको जबर्जस्तीकाविरुद्ध उभिएका श्रेष्ठ बार अध्यक्षको रुखो व्यवहारका कारण आक्रोशित अनुहार लिएर बिदा हुनुपरेको छ । राणाको भ्रष्टाचार र मनमौजीविरुद्ध बार र बेन्चले गरेको तीन महिनाभन्दा बढी लामो आन्दोलनका एक हस्ती थिए श्रेष्ठ । राणाका कारण संकटमा परेको न्यायपालिकालाई श्रेष्ठले नै लयमा फर्काएका थिए ।

न्यायाधीश र आम कानुनव्यवसायीले भद्र, इमान्दार र समन्वयकारी भनेर श्रेष्ठको प्रशंसा गरिरहेका बेला बार अध्यक्ष घिमिरेले भने ‘न्यायाधीश सिफारिसमा आर्थिक लेनदेन’ गरेको आरोप लगाएका थिए ।

सर्वोच्चको नेतृत्वमा १४ महिना रहेर बाहिरिँदै गर्दा मुद्दामामिलामा कहीँकतै श्रेष्ठमाथि प्रश्न उठेन । तर घिमिरेले भने आफ्नो पेशागत मर्यादा बिर्सेर सिंगो बारको शिर निहुरिने गरी झुठो लाञ्छना लगाए ।

सोही कारण सर्वोच्च अदालतमा इतिहासमै पहिलोपल्ट बार अध्यक्षले ‘अदालतको अवहेलना’ मुद्दामा तारिख खेप्नुपरेको छ । आर्थिक लेनदेनको पुष्टि गर्नुको सट्टा अवहेलनामा कारबाहीको डरले ‘प्रधानन्यायाधीशलाई नभई न्यायपरिषद् अध्यक्षलाई भनेको हुँ’ भन्दै तथ्य बंग्याउने प्रयासमा समेत उत्रिए ।

निर्विवाद न्याय सम्पादन र सन्तुलित न्यायप्रशासन कायम गरेबापत सम्मान गर्नुको सट्टा अपमानको शिकार बनाएपछि कानुन व्यवसायी नै बार अध्यक्ष घिमिरेमाथि खनिएका हुन् । नेतृत्वको अविवेकी निर्णयका कारण कारण सिंगो बार नै सर्वत्र आलोचनाको भुमरीमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्