Logo
Logo

यो नै अन्तिम विपत्ति होइन है


315
Shares

एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनिरहँदा दोलखा भीमसेनलाई पसिना आयो । दोलखा भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट हुने संकेतका रुपमा लिइन्छ । त्यसैले क्षमापूजा गर्ने परम्परा पनि छ । नभन्दै, सौर्य एयरको जहाज दुर्घटना भयो र १८ जनाको ज्यान लियो । त्यसलगत्तै डाइनेष्टी एयरको हेलिकोप्टर दुर्घटना भयो र पाँच जनाको ज्यान गयो ।

यत्तिमै अनिष्ट रोकिएन । असोज ११ र १२ गते आएको बाढीपहिरोबाट अढाइ सयले ज्यान गुमाए, दर्जनौँ बेपत्ता भए । मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षाको पूर्वानुमान सार्वजनिक गरेको भए पनि प्रधानमन्त्री ओलीले भनेझैँ यो ठाउँमा पहिरो जान्छ भन्ने कुराको भविष्यवाणी गरेको थिएन । त्यसैले सरकारले पनि पूर्वतयारी गर्न आवश्यक ठानेन भन्ने कुरा प्रधानमन्त्रीको भनाइबाटै प्रष्ट भयो ।

बाढीले काठमाडौँमा यति ठूलो जनधनको क्षति गर्ला भन्ने अनुमानसमेत सरकारले गरेन । सायद, प्रधानमन्त्री अमेरिका भएकोले होला कावा प्रधानमन्त्री प्रकाशमान सिंहले समेत बाढी पहिरोको घटनालाई तत्कालै गम्भीरताका साथ लिएनन् ।

गृहमन्त्री रमेश लेखक त ‘नालायक’ नै भए । नख्खुमा बगेकालाई जोगाउन सकिएन भनेर बोले । जबकि, नख्खुममा बगेकाहरुको उद्धार सामान्य नागरिकले गरिसकेका थिए । सेना, सशस्त्र र नेपाल प्रहरीले सक्दो उद्धारको प्रयास गरे । तर, उद्धार सामग्रीको अभावमा धेरैले अकाल मृत्युवरण गर्नुप¥यो ।

नेपालका लागि यो नै अन्तिम प्राकृतिक प्रकोप होइन । भविष्यमा यो भन्दा ठूलो प्राकृतिक प्रकोप आउन सक्छ भन्ने कुराको संकेत पनि हो यो । यति ठूलो विपत्तिका कारण हामी नै हौ । काठमाडौं उपत्यकाका डाँडाकाँडा मास्ने, नदी मिचेर खोला किनार घर बनाउने हामी नै हो ।

काठमाडौँ, काभ्रे, धादिङ, नुवाकोट र वरपरका डाँडाकाँडामा जथाभाबी ढुंगाखानी, क्रसर उद्योग सञ्चालन गर्न दिनु नै अहिलेको विपत्तिको प्रमुख कारण हुन् । यी राजनीतिक दलका नेता, कार्यकर्ता र बिचौलियाबाट सिर्जित कारण हुन् । त्यसैले राजनीतिक दलका नेता, कार्यकर्ता र हामी आफैँ स्वयं सचेत नभएसम्म यस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति पु¥याइरहन्छ ।

त्यसमाथि हामी नेपाली जतिसुकै ठूलो विपत्ति हुँदा पनि चेत्दैनौँ । प्राकृतिक विपत्ति होस् वा अन्य कुनै घटना । घटना घटेपछि एकैक्षण सोच्छौँ, त्यसपछि बिर्सन्छौँ । अर्को कारण राज्यको नीति, नियम, कानुन मान्दैनौँ भन्ने हठी मानसिकता पनि विपत्तिको कारण हो ।

नेपालका लागि यो नै अन्तिम प्राकृतिक प्रकोप होइन । भविष्यमा यो भन्दा ठूलो प्राकृतिक प्रकोप आउन सक्छ भन्ने कुराको संकेत पनि हो यो । यति ठूलो विपत्तिका कारण हामी नै हौ । हामी आफैँ स्वयं सचेत नभएसम्म यस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति पु¥याइरहन्छ ।

सर्वोच्च अदालतको फैसला र काठमाडौंका मेयर बालेन साहको चिन्तामा मात्रै हामीले अलिकति सोच्ने हो भने भविष्यमा यस्ता प्राकृतिक प्रकोपबाट ज्यान बचाउन सकिएला, नत्र कसैको ज्यान कसैले बचाउन सक्ने अवस्था हुँदैन ।

अहिलेको बाढीपहिरोबाट उत्पन्न समस्या समाधान गर्ने नाममा केही विज्ञहरू चोभारको गल्छी थप काट्नुपर्ने ‘फेसबुक’मा अर्ति दिएर हिँड्दैछन् । यस्तो अर्तिले केही काम गर्दैन । ठूलो कुरा चेतना हो ।

मानिसमा जथाभाबी नदी, खोला अतिक्रमण गर्नु हुँदैन भन्ने चेत जबसम्म खुल्दैन, तबसम्म यस्ता घटना दोहोरिइरहन्छन् । सुकुम्वासी बस्ती काठमाडौँका लागि ठूलो समस्या बनेको छ । राजनीतिक आवरणमा नदी छेउ अतिक्रमण गरेर बसेका नागरिकहरूका विषयमा यतिबेला सोच्नुपर्ने बेला आएको छ । जमिनभन्दा ज्यान ठूलो कुरा हो भन्ने कुरा कथित बुद्धिजीवीले पनि बुझ्नुपर्छ ।

दसैँ, तिहार र छठजस्ता महान् चाड आउँदै छ । यस्तो बेला कतिको घरमा खुसी होला, कतिको घरमा पीडा होला, त्यो आफ्नो ठाउँमा छदैछ । तर, महत्त्वपूर्ण कुरा नागरिकले सरकारको खोजी गर्ने बेला पनि यही हो । आम नागरिकको अभिभावक सरकार भएकोले यस्तो शोकको बेला राष्ट्रिय झन्डा आधा झुकाउने भन्दा पनि राहतमा ध्यान दिनुपर्छ ।

बेपत्ताको खोजीमा जुट्नुपर्छ । राष्ट्रिय सहमतिको वातावरण बनाउनु पर्छ । आफ्नो दम्भ त्याग्नुपर्छ र सिंगो राजनीतिक दलका नेता, कार्यकर्ताहरूलाई पीडितहरूको घाउमा मलमपट्टी लगाउनेतिर लाग्नु पर्छ । अन्यथा, प्राकृतिक प्रकोपबाट सिर्जित दुर्घटनाले राज्यसत्ताकै कुर्ची पनि बगाउन सक्छ ।

जताततै असन्तुष्टि चुलिएको बेला जनतासँग ठट्टा गर्ने समय होइन यो । देशका नागरिकले भोग्नुपरेका तमाम समस्या समाधान गर्नुपर्ने बेला हो । त्यसका लागि संसदीय अंकगणितको दम्भ तोडेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आजको आवश्यकता हो । आम नागरिकको दृष्टिमा सबै ठूला दल असफल भइसकेका छन् । अब काम गरेर सफल हुनुपर्ने बेला छ ।

अन्त्यमा, सम्पूर्ण नेपाली जनतामा यही शुभकामना । हाम्रो भेट कात्तिक १३ गते मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्