Logo
Logo

दुई महिनामा सात अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात


189
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ ।

प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रतियुनिट औसतदर आठ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ ।

भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड आठ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालु आवको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारणलाइनमा क्षति पुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

बाढीबहिरोभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । हाल दैनिक रूपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरोका कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्