Logo
Logo

हर्क साम्पाङको कपट : उपमेयर हुँदाहुँदै वडाअध्यक्षलाई कार्यवाहक जिम्मेवारी


1.9k
Shares

धरान । विभिन्न ‘स्टन्टबाज’ र ‘तिकडम’का कारण चर्चा र विवादमा आइरहने धरान उप-महानगरका मेयर हर्क साम्पाङ अहिले फेरि आलोचित बनेका छन् । एक समारोहमा सहभागी हुन बेलायत जान लागेका साम्पाङले उपमेयर हुँदाहुँदै वडाअध्यक्षलाई ‘कार्यवाहक’को जिम्मेवारी दिएपछि आलोचित भएका हुन् । आलोचकहरुले भनेका छन्, ‘यो सम्पाङको अज्ञानताको परकाष्ठा हो ।’

मेयर साम्पाङले वडा नम्बर ११ का वडाअध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । साम्पाङले बुधवार नै असोज २८ गतेबाट लागूहुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । कार्यवाहकको जिम्मेवारी पाएका अध्यक्ष फागोले आफूलाई कार्यालयमा बोलाएर पत्र दिएको बताएका छन् ।

बिहीबारबाट सार्वजनिक बिदा हुने भएको बुधबार नै फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । मेयर साम्पाङ असोज २८ गते धरान बाहिर जाने कार्यक्रम तय भएको छ ।

कानूनतः नगरप्रमुख वा गाउँपालिका अध्यक्ष सातदिन वा सोभन्दा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ । तर, साम्पाङले वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर व्यवस्थामा भएको कानुनलाई समेत लत्याएका छन् । मेयर साम्पाङले धरानमा आफूलाई ‘कसैले चलाउन नसक्ने’ बताउँदै आएका छन् ।

उपमेयर पनि कार्यालयमा अनुपस्थित हुने भएमा मात्र कुनैपनि सदस्यलाई कार्यभार सुम्पने व्यवस्था छ । तर, मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यभार दिने पत्र तयार गरेका छन् । उपमेयर आइन्द्रविक्रम बेघाले आफू बाहिर जाने कुनै कार्यक्रम नभएको बताएका छन् ।

वडाअध्यक्षलाई कार्यवाहक दिएको प्रति उपमेयरले साम्पाङप्रति टिप्पणी गरेका छन्, ‘सायद उहाँले ऐन कानून पढ्नु भएन होला । त्यही भएर वडाध्यक्षलाई कार्यवाहकको पत्र दिनुभयो ।’ कार्यवाहक दिने विषयमा आफूसँग कुनै सल्लाह नभएको उपप्रमुख बेघाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्