Logo
Logo

सामाजिक अपराध मानिने तास कसरी बन्यो लोकप्रिय ?


252
Shares

जुवातास खेल्नु गैरकानुनी हो । यो सबैलाई थाहा छ । तर, गैरकानुनी काम नगरी, जुवातास नखेली दसैँ–तिहारजस्ता ठूला पर्व नै आउँदैन जस्तो लाग्न थाल्छ । दसैँ आउनुअघि नै साथीभाइ तथा परिवारजनबिच तास खेल्ने सल्लाह भइसकेको हुन्छ ।

विषेशगरी बिदाको समय काट्न एवं रमाइलोसँग चाडपर्व मनाउन धेरै तास खेल्ने गर्छन् । अरू बेला तास भनेपछि मुख खुम्च्याउनेहरू समेत दसैँ–तिहार मनाउन तासको खालमा जम्छन् । अझ कतिपयलाई त तास नखेलुन्जेलसम्म दसैँ–तिहार आएको आभास नै हुँदैन ! तास खेल्नेलाई मात्र होइन, हेर्नेलाई पनि उत्तिकै रमाइलो हुन्छ ।

कहिल्यै गाँजा नखानेहरूले शिवरात्रिमा जसरी ‘शिवको प्रसाद’ भन्दै गाँजा खाने गर्छन् । त्यसरी नै कहिल्यै तास नखेल्नेहरू पनि दसैँ–तिहारमा खेल्न तम्सिन्छन् ।

तासका धेरै खेलहरू छन् । भनिन्छ– ५२ पत्ति तासको ५३ खेल । तर, खेल्ने तरिका र नियम ठाउँअनुसार फरक–फरक हुन्छ । जान्नेहरू म्यारिज खेल्छन् । म्यारिज नजान्नेहरू कलब्रेक, किटी, तीनपत्ती, धुम्मल खेल्छन् । त्यो पनि नजान्नेहरू जुटपत्ती भएपनि खेल्छन् । बुढापाका भने दहलमारामा रमाउँछन् ।

अघिल्लो पुस्ता र पछिल्लो पुस्ता स्वाभाविक ढंगले एकै स्थानमा बसेर खेल्ने गर्छन् । दसैँ–तिहारपछि साथीसंगीमा लेखाजोखा हुन्छ, यसपटकको दसैँ–तिहार कत्तिको फाप्यो ? दसैँ–तिहारमा तासमा हारेपनि जितेपनि गर्व गर्छन् । हार्ने र जित्ने दुवैले गर्वको साथ सुनाउँछन्– मैले यति हारे, यति मारे ।

सामाजिक अपराध मानिने जुवाअन्तर्गत तास पनि पर्छ । तर चाडपर्व, उत्सव, घरेलु कार्यक्रम, मेला तथा पिकनिकमा तास खेल्नु सामन्य भइसक्यो । फुर्सदिलाहरू त बाह्रैमास पनि खेल्छन् ।

विशेष गरी दसैँ–तिहारमा मात्र तास खेल्नेहरू मनोरञ्जनका लागि खेल्छन् । यो समूह निकै ठूलो छ । चाडबाड मनाउन तास खेल्ने चलन सहरी क्षेत्रमा अझ व्यापक बन्दै गएको छ । पुरुषहरू मात्र होइन, महिलाहरू पनि तास खेल्न माहिर छन् । कोही रमाइलोका लागि खेल्छन् । कतिले तनाव कम गर्न पनि यसलाई रोज्छन्  । जहाँ जित हारको कुनै मतलब हुँदैन ।

तास सामाजिक अपराध मानिने जुवा ऐनभित्रै पर्ने भन्दै तासका खालहरूमा छापा मार्ने प्रहरी नै खेल्न गरेका छन् । उनीहरू तासलाई तास भन्दैनन् । ‘कार्ड गेम’ भन्छन् । त्यसैले प्रहरी प्रशासनले समेत दसैँ–तिहारमा तास खेल्नुमा खासै कडाइ गरेको पाइँदैन । यद्यपि, ठूलाठूला खाल बनाएर खेल्नेहरूलाई भने पक्राउ गर्ने गरेको छ ।

तास लगभग हरेकजसो नेपाली घरमा खेलिनुको कारण के होला ? जुवाडेहरूको भनाइअनुसार भाग्य जाँच्ने खेलका रूपमा पनि दसंै र तिहारमा जुवा–तास खेल्ने परम्परा विकास भएको हो । तर, जुवातासको उत्पत्ति हामीले सोचे जसरी रमाइलोको लागि भएको होइन । यसको निकै रोचक तथा गम्भीर इतिहास छन् ।

जुवा भगवान्कै पालादेखि खेलिँदै आएको विभिन्न धर्म ग्रन्थहरूमा पाइन्छ । यो प्रचलनको सुरुवात शिव र पार्वतीबाट भएको मानिन्छ । दीपावलीको रातमा शिव र पार्वतीले जुवा खेलेका थिए । त्यसपछि नै जुवा खेल दीपावलीसँग जोडिएको मानिन्छ । तर, शिव र पार्वतीले खेलेको उक्त जुवाबारे कुनै पनि ग्रन्थमा भने उल्लेख गरिएको पाइँदैन ।

हरेक पर्वहरूमा कुनै न कुनै परम्परा जोडिएको हुन्छ । यी परम्परामा केही सकारात्मक पक्ष छन् भने केहीमा नकारात्मक पक्ष पनि छन् । चाडपर्वमा जुवातास खेल्ने परम्परा रहिआएको छ । जुन, एउटा नकारात्मक परम्परा हो ।

परापूर्वकालदेखि जुवा खेल्ने प्रचलन रहेपनि जुवातास खेल्नु राम्रो भने होइन । यसले धेरैको घरबार उठिबास गराएको छ । कहिले काहीँ घर खेत नै बेच्नुपर्ने अवस्था आउने गर्छ । कसैको भने पेसा नै यहीँ हुन्छ । दिनरात जुवातासमा बिताउँछन् । परापूर्व कालमा पनि धेरैले आफ्नो सर्वस्व गुमाएको र त्यसलाई पुनः प्राप्त गर्न निकै कठिन भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

महाभारतमा राजा नलले पनि जुवाकै कारण सर्वस्व गुमाएका थिए । धर्म ग्रन्थको अनुसार राजा नल र दमयन्तीको माया÷प्रेम गहिरो हुन्छ । एक पटक राजा नल आफ्ना आफन्तसँग जुवा खेल्न बस्छन् । सुरुवातमा सुनको मोहरबाट दाउ लगाउन सुरु गर्छन् । राजा नलका आफन्त कपटी थिए र उनले छलकपटबाट राजा नलको सम्पत्तिसहित राज्य, सेना, महल सबै जित्छन् । उनले सर्वस्व गुमाउँछन् । आफ्नो राज्य पुन फिर्ता लिनका लागि उनलाई निकै ठूलो संघर्ष गर्नुपर्छ ।

त्यस्तै, महाभारतको युद्धको प्रमुख कारण बनेको थियो जुवा । महाभारतका अनुसार दुर्योधनले शकुनीको साथमा मिलेर पाण्डवलाई छलकपट गरेर जुवामा इन्द्रप्रस्थ जितेका थिए । युधिष्ठिरले दाउमा दाउ लगाउँदै हार्दै गए । अन्तिममा आफूलाई, आफ्ना चार भाइलाई पनि जुवामा दाउ लगाए र त्यसमा पनि सफल हुन सकेनन् । यसपछि उनले पत्नी द्रौपदीलाई दाउमा हाले र हारे । द्रौपदीको चीरहरण भयो । त्यसपछि पाण्डवले १३ वर्षसम्म वनवास बिताउनुप¥यो ।

श्रीमद्भागवतको अनुसार भगवान् श्रीकृष्णका दाई बलरामले पनि जुवा खेलेका थिए । श्रीकृष्ण र रुक्मिणी पुत्रको विवाहका क्रममा रूक्मिणीका भाई रूक्मीसँग जुवा खेलेका थिए । उनलाई रक्मीले छलकपट गरेर जिते । विवाह समारोहमा अपमान हुन थाल्यो । यसबाट रिसाएका बलरामले रुक्मीको हत्या गरिदिए । र, विवाहको माहोल नै तितरवितर भयो ।

अहिले पनि जुवा–तासले धेरैको सर्वस्व गुमेको छ । धेरै घरबार छाडेर हिड्नुपर्ने अवस्थामा पुगेका छन् । चाडबाडको बेला कहिलेकाहीँ साथीभाइ, परिवार र आफन्तसँग बसेर खेल्दा रमाइलै हुन्छ । तर, यसको तल लाग्नु हुँदैन । यसलाई नै व्यवसाय बनाउनु हुँदैन ।

ठूला चाडबाडका बेला जुवातास खेल्नेहरुको संख्यामा हुनेगरेको वृद्धि नियन्त्रण गर्ने प्रहरीको जनचेतनाको अभाव र फितलो कानूनी व्यवस्थाका कारण प्रभावकारी हुन सकेको छैन । कतिपय ठाउँमा परम्पराको रुपमा लिइने हुनाले यसमा आकर्षित हुनेहरूको संख्यामा वृद्धि भएको पाइन्छ ।

अर्कोतर्फ, कानूनमा सजायको व्यवस्था निकै फितलो भएकोले पनि जुवा खेल्नेहरू हतोत्साहित नहुने गरेको प्रहरीको अनुभव छ । तास खेल्नु र खेलाउनुलाई गैरकानुनी मान्दै ऐनले तास खेल्ने खेलाउनेलाई एक वर्षसम्म कैदको व्यवस्था गरेको छ । खेल्ने मात्र हैन खेलाउनेलाई समेत कारबाही हुने गरेको छ । परम्परा भन्दै यसलाई यतिकै छाड्ने हो भने भोलि विकराल बन्न सक्छ । त्यसैले यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्