Logo
Logo

दुई महिनादेखि हराइरहेको छोराको बाटो हेर्दै गुरुङ दम्पती


189
Shares

नवलपरासी । गाउँले हर्षोल्लासका साथ बडादशैँ मनाइरहेका वेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु-३ ब्रह्मस्थानस्थित बोटे टोलका नन्दे र राजकुमारी गुरुङ दम्पतीको आँखा भने बाटो हेर्दै बितिरहेको छ।

उनीहरूका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैनन्। छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ। विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहेकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ छोराको चिन्ताले झनै थलिएकी छिन्।

‘घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन’, गहभरि आँसु पार्दै राजकुमारीले भनिन्, ‘कहाँ गएको हो, आफन्त गाउँलेहरू मिलेर धेरै ठाउँमा खोजियो। तर छोराको बारेमा केही थाहा पाउन सकिएन।’

जेठा छोरा बेपत्ता भएपछि दशै खल्लो भएको छ। दशैँ मनाउने उत्साह नभएको उनले बताइन्। छोरा घर फर्किएर आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै छ।

उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन। ‘दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन। बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन’, उनले भने। छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी र संस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ।

नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पुशपालन गर्दै आएका थिए। राजकुमारी बिरामी आएपछि दुवै जना वैदेशिक रोजगारी छोडेरफर्किएका थिए। ‘घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुशीले दशैँ मनाउनु खै’, मलीन मुद्रामा नन्देले भने, ‘अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्