Logo
Logo

दोषी विकसित मुलुक, असर विकासशीललाई


पूणर्हरि अमात्य

504
Shares

नेपालीहरूको महान् चाड विजयादशमीको मुखमा दुई दिनको अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते नै भारी वर्षा हुने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेको थियो ।

तर जनताको जिउधनको सुरक्षाको जिम्मा लिएका सरकारी निकायहरूले तदारुकताका साथ काम गर्न नसकेकोमा ललितपुरको नयाँ मन्त्रीनिवास भैंसेपाटी नजिक रहेको नख्खु खोला किनारमा एउटा परिवार बाढीबाट ज्यान जोगिन गरेको क्रन्दन व्यापक भाइरल भयो । र, उक्त बाढीमा पीडितलाई आफ्नो ज्यानको बाजी लगाएर चणिकलाल तामाङले बचाए ।

तर लाजमर्दो कुरा संघीय राजधानीमा प्रहरी प्रशासनको बाक्लो उपस्थिति भए पनि उक्त बाढीबाट त्यो परिवारलाई जोगाउन सकेन । गृहमन्त्री रमेश लेखकले सरकारको बचाऊ गर्दै भिजिबिलिटी नभएकोले उक्त बाढीपीडितलाई बचाउन नसकेको लाचारी व्यक्त गरे ।

त्यसो त वर्षायाममा जनधनको क्षति हुनु सामान्य कुराझैँ लागे पनि विपद् व्यवस्थापनमा कार्यरत सुरक्षाकर्मीहरूलाई सामान्य लजिष्टक (बन्दोबस्ती)का सामानहरू जस्तै लाइफ ज्याकेट, डोरी, डुंगा र टर्चलाइटजस्ता वस्तुहरूको अभाव रहेको जानकारीमा आयो । राजधानी जोड्ने लाइफलाइन मानिएको नागढुंगाजस्तो महत्त्वपूर्ण स्थान नजिकको झ्याप्ले खोलामा गएको पहिरोले बस र माइक्रोबस पुरिँदा ३५ जना नागरिक एकैचिहान भए ।

बिपी राजमार्ग जुन रोशी खोलामा फसेका यात्रीहरू भोकै प्यासै पोको पुन्तुरो बोक्दै सकीनसकी पाखाभित्ता समाउँदै हिँड्दै गरेको कहालीलाग्दो दृश्य सामाजिक सञ्जालमा देखियो । गाउँगाउँमा सिंहदरबार पुगेको उद्घोष हुने लोकतान्त्रिक नेपालको बारेमा खुबै चर्चा हुन्छ ।

र, त्यस्ता सिंहदरबारमा बिराजमान नेतृत्वपंक्ति जुनसुकै दलका हुन्, मनी र मसलको बलमा सत्तारुढ भएकाहरूबाट स्थानीय प्राकृतिक स्रोतको जथाभाबी दोहनले यस्ता अकल्पनीय प्राकृतिक वितण्डा भोग्न सर्वसाधारण नेपालीहरू बाध्य हुनु नै हाम्रो नियति हो त ? यो कुरामा हामी सहमति भए पनि जलवायु परिवर्तनले ल्याउने यस्ता विपद्प्रति हामी सचेत छैनौँ । जलवायु परिवर्तन हाल विश्वको एक प्रमुख समस्या हो ।

प्राकृतिक विपत्ति जहाँ पनि हुनसक्छ भन्ने कुरामा विवाद छैन । तर नेपालको पहाड, भित्री मधेस, तराईदेखि भारतीय सिमाना छेउ बग्ने नदी तथा खोलानालाहरुबाट अनियन्त्रित रुपमा बालुवा, ढुंगा र गिट्टी दोहन हुनाले सानो बर्खाले पनि भयावह बाढीको समस्या सिर्जना हुने गर्दछ ।

पृथ्वी राजमार्गमा पर्ने सिमलताल बस दुर्घटना हुँदा त्रिशूली नदीमा खसेको बसबाट कयौंको ज्यान गएको राष्ट्रिय घटनाका रुपमा आयो । किनकि, उक्त बस दुर्घटनामा मृतकहरूको साथै बसको नेपाली सुरक्षाकर्मीहरूले पत्ता लगाउन नसकेपछि भारतीय गोताखोरहरूको समेत सहयोग लिनुप¥यो ।

कुरिनटारमा सशस्त्र प्रहरी बलको विपद् तालिम केन्द्र छ । तर उक्त केन्द्रलाई आवश्यक बन्दोबस्तीका सामानहरूबाट सुसज्जित हुन सकेका छन् कि छैनन् भन्ने कुरामा नेपाल सरकार त्यति गम्भीर छ जस्तो लाग्दैन ।

हरेक वर्ष नेपालमा अमेरिकी सेना र नेपाली सेनाबीच विपद् व्यवस्थापन तालिम सञ्चालन भएको सुनिन्छ । तर हालैको यत्रो प्रकृतिको वितण्डा मच्चिदा तिनीहरूको कुनै भूमिका देखिएन । विपद् व्यवस्थापनको नाम दिइएको उक्त सैनिक अभ्यासले उत्तरको छिमेकी चीनलाई अनावश्यक रुपमा चिढाउने काम भइरहेको एकथरिको भनाइ छ ।

नेपालको प्राकृतिक विपद् आन्तरिक मात्र होइन बाह्य कारणले पनि भोग्न बाध्य छ । संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनले ऊर्जाको बढ्दो मागलाई धान्न फोसिल फ्युल (जैविक इन्धन) र कोइला बालेर थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्नाले वायुमण्डललाई प्रदूषित भएको छ ।

त्यसैगरी भारतले घरेलु ऊर्जाको माग धान्न मात्र होइन कि बंगलादेशमा समेत कोइरालाबाट थर्मल पावर (विद्युत् उत्पादन गरी) बंगलादेश निर्यात गरिरहेको छ । जसले गर्दा वायुमण्डललाई दूषित पारिरहेको छ । तर भारत नेपालको स्वच्छ ऊर्जा जलविद्युत्बाट खरिद गर्नुको साटो भारतले चिनियाँ लगानी वा त्यस मुलुकको निर्माण कम्पनीबाट उत्पादित नेपालको स्वच्छ ऊर्जा खरिद गर्न चाहँदैन । जबकि, भारत हामी छिट्ट्रै चीनसँग एक सय मिलियन डलरको द्विपक्षीय व्यापार गर्दैछौं भनी सगौरव भन्दछ । यो भारतको दोहोरो चरित्र हो ।

भारतमा धान बाली र गहुँ बाली भित्र्याइसकेपछि खेतमा आगो लाउने परम्परा छ । जसले गर्दा भारतमा मात्र होइन नेपालमा समेत त्यसले वायु प्रदूषण हुन्छ र साथै छिमेकका हामीले पनि उक्त प्रदूषण भोग्न बाध्य छौँ ।

हरेक वर्ष नोभेम्बर महिनामा नयाँ दिल्लीको आकाशमा बाक्लो तुवालोले ढाकेर दिउँसै सडकमा बत्ती बाल्नुपर्ने स्थिति सिर्जना हुन्छ । तिहारमा व्यापक मात्रामा पटका पड्काउनले वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा कयौँ गुणा बढी हुन्छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र उदीयमान भारतको उच्च आर्थिक वृद्धिदरले ट्रान्स अटलान्टिक केन्द्रीय विकासको रफ्तार हाल एसिया प्रशान्त क्षेत्रमा सिफ्ट भएको छ ।

भूगोल र जनसंख्याको साथै ठूलो अर्थतन्त्र भएको चीन र भारत पश्चिमा मुलुकहरुलाई आर्थिक विकासमा पछि पार्दै द्रुतगतिमा क्रमशः अगाडि बढ्दैछ । र, नेपाल यी दुवै मुलुकका बीचमा हुनु हाम्रा लागि अवसर र चुनौती दुवै छन् । त्यसलाई हामीले बुद्धिमतापूर्ण ढंगले उपयोग गर्न सके हामीले धेरै लाभ लिन सक्छौँ । तर, दुःखको कुरा नेपाली नेताहरू छुद्र व्यक्तिगत र दलगत स्वार्थमा रुमलिनाले हामीले यत्रो अवसरलाई सदुपयोग गर्न सकेका छैनौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ‘म अमेरिकामा भैँसी दुहुन गएको होइन’ जस्तो गैरजिम्मेवार जवाफ दिनुले सत्तापक्षको मानसिकता छर्लङ्ग हुन्छ ।

अफगानिस्तानदेखि म्यानमारसम्मको २४ सय किलोमिटर लामो पर्वतीय शृङ्खलाहरूको मुलुकहरूमा नेपालको अग्रणी स्थान छ । र नेपालको यी सबै मुलुकहरूसित दशकौंदेखि मित्रवत सम्बन्ध भएकाले नै होला इसिमोडजस्तो अन्तर सरकारी संस्थाको मुख्यालय नेपालमा रहेको छ । जसले पर्वतीय क्षेत्रका विविध आर्थिक, सामाजिक र पर्यावरणीयका सम्बन्धमा दशकौंदेखि उदाहरणीय काम गरिरहेको छ ।

इसिमोडले नेपालका विभिन्न जलाधार क्षेत्रहरूको साथै यी सदस्य राष्ट्रहरूको पर्यावरणीयका सम्बन्धमा सूक्ष्म अध्ययन गरेर निराकरणका उपायका बारेमा पनि सल्लाह दिने गर्दछ । इसिमोडले ग्लोबल वार्मिङले गर्दा तीव्रगतिमा हिउँ पग्लिनाले बाढीपहिरो सुक्खा र शीतलहरजस्तो प्राकृतिक प्रकोपका बारेमा सरकारका साथै नागरिक समाजलाई सचेत गराउने गर्दछ ।

यस क्रममा इसिमोडले अष्ट्रेलिया सरकारको सहयोगमा २०७२ सालको अन्त्यमा कोशी रिभर बेसिनअन्तर्गत भइरहेका कामको बारेमा जानकारी गराउने उद्देश्यले भारत तथा नेपालका केही सञ्चारकर्मीहरूलाई यो पंक्तिकारको संयोजनमा सिन्धुपाल्चोक, काभ्रे, धनुषा, सप्तरी तथा महोत्तरीको भारतीय सीमा छेउसम्म स्थलगत भ्रमण गराएको थियो ।

कोभिड सुरु हुनुभन्दा केहीअघि जलवायु परिवर्तनका सम्बन्धमा एउटा राष्ट्रिय नीति बनाउने हेतुले नेपालको परराष्ट्र मन्त्रालयको अगुवाइमा एउटा राष्ट्रियस्तरको सम्मेलन गराएको थियो । जसलाई सगरमाथा संवाद नाम दिइएको थियो ।

त्यसैगरी यो राष्ट्रिय सम्मेलनपछि विश्वका विभिन्न राष्ट्रका सरकार प्रमुखहरू सम्मिलित एउटा अन्तर्राष्ट्रियस्तरको सम्मेलन पनि गर्ने निधो गरेको थियो । तर कोभिडको महामारीले उक्त सम्मेलन स्थगित हुन गयो । तर हालको सामान्य स्थितिमा सगरमाथा संवादको आयोजना गरेर पर्वतीय मुलुकहरू तथा स–साना क्यारेवियन क्षेत्रका टापु मुलुकहरूले भोग्नुपरेको पर्यावरणीय समस्याका बारेमा नेपालले अग्रणी भूमिका खेल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्