Logo
Logo

कफीसप सञ्चालनमा पनि सेटिङ


819
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाभित्र रहेको एउटा कफीसप वर्षाै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीकै आडमा चलिरहेको छ । अझ पछिल्लो केही वर्ष त सर्वोच्च अदालतको स्टे अर्डरको भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित कफीसप चलिहरेको छ । स्टे अर्डर समेतको मुद्दा फिर्ता लिएको झन्डै डेढ वर्ष पुगिसक्दा पनि अझै सञ्चालन भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा छानबिन गरिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको मिलेमतोमा विवादास्पद व्यापारी सुवास श्रेष्ठले वर्षौँदेखि संवेदनशील क्षेत्रमा कफीसप सञ्चालन गरिरहेका छन् ।

उनले विवादास्पद, व्यापारी र अवैध डलर कारोबारीमार्फत काम गरी प्राधिकरणलाई हानी नोक्सानी प्याउँदै आएका श्रेष्ठलाई साथ दिइरहेका छन् । २०६९ चैत २६ गते विवादास्पद व्यापारी सुवास श्रेष्ठले गोपालबाबु श्रेष्ठको नाममा पुरानो स्टेराइल कक्षको लबीमा कफीसप सञ्चालन गर्नका लागि विमानस्थलसँग सम्झौता गरेका थिए ।

तर, विमानस्थलले उक्त ठाउँ भत्काई नयाँ संरचना निर्माण गर्ने भन्दै २०७६ असार १९ गते ३५ दिनभित्र सो पसल रहेको स्थान खाली गर्न कफीसप सञ्चालक श्रेष्ठलाई पत्र काटेको थियो । तत्कालीन महाप्रबन्धक राजकुमार क्षेत्रीले पत्र काटेपछि श्रेष्ठ त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्च अदालतले २०७६ साउन २० मा श्रेष्ठले सोही स्थानमा पसल सञ्चालन गर्न पाउने गरी ‘स्टे अर्डर’ जारी ग¥यो । पटक–पटक पेशी तोकिएपनि तीन वर्षसम्म उक्त मुद्दाको छिनोफानो नभएपछि अन्ततः श्रेष्ठले २०७९ वैशाख २५ गते आइतबार सर्वोच्चमा दायर गरेको मुद्दा फिर्ता लिएका थिए ।

स्टे अर्डरको भरमा २०७६ सालदेखि विमानस्थलको अतिसंवेदनशिल स्टेराइल क्षेत्रभित्र कफीसप सञ्चालन गर्दै आएका श्रेष्ठले मुद्दा फिर्ता लिएको १८ महिना बितिसक्दा पनि पसल भने उनै महानिर्देशक अधिकारीको निर्देशनमा सञ्चालन गरिरहेका छन् ।

तत्कालीन संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग सेटिङ मिलाएर विमानस्थलका तत्कालीन महाप्रबन्धक भोला गुरागाईँ, प्राधिकरणका तत्कालीन महानिर्देशक राजकुमार क्षेत्री, हालका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्रभावमा पारेर श्रेष्ठले स्टे अर्डरको भरमा कफीसप सञ्चालन गर्दै आएका छन् ।

त्यतिखेर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु राणासँग सेटिङ गरी स्टेअर्डर जारी गराउन सफल भएका स्रोतको दावी छ । सर्वोच्च अदालतले जारी गरेको स्टे अर्डर अनुसार श्रेष्ठले पुरानो सम्झौता भएको स्थानमा कफीसप सञ्चालन गर्न पाउनुपर्ने हो । तर, सो कफीसपबाट नै आगलागी भएर विमानस्थलको पुरानो स्टराईल क्षेत्रमा समेत ठूलो क्षति पुगेपछि श्रेष्ठलाई महानिर्देशक अधिकारीले नयाँ बनेको स्टेराइल कक्षभित्र कफीसप सञ्चालन गर्न दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्