Logo
Logo

एमालेले भन्यो- भाटभटेनीका मालिकसँग कुनै सौदावाजी र लेनादेना छैन


630
Shares

काठमाडौं । नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङबाट पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । गुरुङ एमालेका पुरानै समर्थक र शुभचिन्तक रहेको भन्दै एमालेले जग्गादानलाई लिएर भइरहेका टिकाटिप्पणी खेदजनक भएको बताएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै गुरुङ विद्यार्थी कालदेखि नै धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको बताएका छन् । साथै, कामको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेका थिए भने, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा भूमिका निर्वाह गरेको विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा भनिएको छ, ‘नेपाली माटोमा हुर्किएका एकजना सफल व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व हाम्रो पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र वहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका वडा नं। २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको छ । यसलाई २०८१ असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागत रुपमा स्वीकार गरी वहाँलाई सहयोगका निम्ति धन्यवाद दिएको छ । असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा भव्य र पारदर्शी ढंगले केन्द्रीय कार्यालयको शिलान्यास समेत गरिसक्नुभएको छ ।’

अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दान गरिएको जग्गालाई पार्टीले स्वीकार गरेको र यसमा कुनै किसिमको सौदावाजी र लेनादेना नभएको विज्ञप्तिमा उल्लेख छ ।

‘यसमा कुनै किसिमको पनि सौदावाजी र लेनादेना छैन । उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैंले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन,’ अर्यालले भनेका छन्, ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।’

प्रतिक्रिया दिनुहोस्