Logo
Logo

बार अध्यक्ष घिमिरेविरूद्धको मुद्दा न्यायाधीश रेग्मी र चुडालको इजलासमा


945
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
अदालतको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ ।

सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना निवेदन दर्ता भएको थियो । घिमिरे स्वयम्ले उक्त निवेदन फिर्ता लिने घोषणा गरिसकेका छन् ।

बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश नियुक्तिमा प्रधान न्यायाधीश एवं न्याय परिषद्का अध्यक्षले लेनदेन गरेको आरोप लगाएका थिए । तत्कालीन समयमा प्रधान न्यायाधीशको रूपमा विश्वम्भरप्रसाद श्रेष्ठ थिए भने उनी अवकाश भइसकेका छन् ।

हाल प्रधान न्यायाधीशको रूपमा प्रकाशमानसिंह राउत रहेका छन् । न्याय परिषद् नियमावलीको विरोधमा बारले धर्ना दिइरहँदा परिषद्ले सर्वोच्चको रिक्त न्यायाधीशमा उच्च अदालतका दुई मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेपछि घिमिरे रुष्ट भएका थिए ।

बारको विरोधलाई बेवास्ता गरेको भन्दै उनले यस्तो अभिव्यक्ति दिएका थिए । तर पछि बारले उक्त अभिव्यक्ति अदालतप्रति नभई न्याय परिषद् अध्यक्षको हकमा मात्र भएको भनी सच्चाएको थियो । सर्वोच्चमा आज हुने सुनुवाइले उक्त मुद्दा अघि बढ्ने कि नबढ्ने तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्