Logo
Logo

सुब्बाले हल्लाएको मन्त्रालय


819
Shares

काठमाडौं । पदीय हैसियत तल्लो दर्जाको भए पनि खरिदार र नायबसुब्बाले नेपालमा ट्रेड युनियनको आडमा सहसचिव र सचिव नै फेर्ने गरेका छन् । राजनीतिक दलनिकट ट्रेड युनियनमा लागेका खरिदार सुब्बाहरुलाई सधैं कार्यालयमा रजगज गर्न दिनुपर्छ । निजामती सेवा ऐन नियम उनीहरुलाई लाग्दैन, अरु पहुँचबिहीन कर्मचारीलार्ई मात्र ऐन नियम लागू हुने गरेको छ ।

ट्रेड युनियनमा लाग्ने, उच्च प्रशासकहरुलाई तर्साउने र सधैं आकर्षक कार्यालयमा बसेर करोडौं कमाउने नासु–खरिदारहरुको संख्या थुप्रै छ । जनसम्पर्क हुने कार्यालय, करोडौंका खरिद हुने कार्यालय वा मन्त्रालयको स्टोरकिपर (जिन्सी)मा सरुवा हुने र सरुवा हुन नपाएमा ट्रेड युनियन लगाउने र धम्की दिने गरेका छन् । यस्ता कर्मचारीबाट उपसचिवदेखि सहसचिव र सचिव हैरान भएका छन् । ट्रेड युनियनको आतंकले मन्त्रालय अस्तव्यस्त बनेको छ ।

देशका अति बिशिष्ट पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष) र मन्त्रीहरुको निवासमा आवश्यक पर्ने सबै सामान खरिद गर्ने संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयका नायबसुब्बा पशुपति पोखरेल ४ बर्षदेखि ट्रेड युनियनको आडमा सरुवा रोक्दै आएका छन् ।

स्रोतका अनुसार गएको भदौ ३१ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १ हजार २ सय कर्मचारीको सरुवा गर्दा पोखरेल पनि परेका थिए । तर उनले टे«ड युनियनका नेता लगाए, त्यतिले पनि सरुवा नरोकिएपछि उनले ४ सयको जुलुस ल्याउँछु भनेर उपसचिवदेखि सहसचिवसम्मलाई तर्साएपछि उनको सरुवाको पत्र नै रोकियो ।

सामान्यबाट सरुवा रोकिएपछि उनलाई सहरी विकास मन्त्रालयले असोज १५ मा सरुवा गर्यो । सहरी विकास मन्त्रालयमै सरुवा भएका उनी खटाएको ठाउँमा १८ दिनसम्म पनि नगई संघीय सचिवालयमै थमौती हुन अनेक तरहले शक्ति लगाउँदैआएका छन् ।

नासु पोखरेलले सरुवा रोक्न सहरी विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव बैकुन्ठ चालिसे र सचिव मणिराम गेलाललाई प्रभावमा पारिसकेका थिए ।

वेबसाइटमा सरुवा सूची नराखिसकेकाले उनले बदर गराउन र सरुवा भएका नासु सुनिल रोकायलाई पत्र नदिन सहमत गराए । तर सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रशासन महाशाखाकी सहसचिव बिनु बज्राचार्यलाई बोलाएर ४ बर्षदेखि नियम बिपरीत कार्यरत विवादित नासु पोखरेलको सरुवा गरी उनको ठाउँमा सरुवा भएका रोकायलाई तुरुन्त रमाना दिन निर्देशन दिए ।

सहसचिव पोखरेलले तत्कालै रोकायलाई रमाना दिएपछि उनी दशैंअघि नै हाजिर भइसकेका छन् । तर, सचिवालयबाट सरुवा भएका नासु पोखरेलले बरबुझारथ पनि नगरेको र रमाना पनि लिएका छैनन् ।

२१ दिनभित्र बरबुझारथ गरी सरुवा भएको कार्यालयबाट रमाना लिई खटाएको कार्यालयमा हाजिर हुन जानुपर्ने निजामती सेवा नियमावलीमा छ । तर १८ दिनसम्म पनि पोखरेलले बुझबुझारथ गरेका छैनन् । फेरि सचिवालयमा बस्ने, सरुवा रोक्ने खेलमै उनी सक्रिय रुपमा लागिरहेका छन् ।

सचिवालयमै बस्ने र आफू अनुकूलको मन्त्री र सचिव आएपछि रोकायलाई सरुवा गरी फेरि स्टोरकिपर हुने र अकूत कमाउने ध्याउन्नमा छन् । १८ दिनसम्म पनि बरबुझारथ नगरेकाले संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयका प्रमुख (सहसचिव) चक्रवर्ती कन्ठले नासु पोखरेललाई आइतबारसम्म बुझबुझारथ गरी रमाना लिनू भनेर पत्र काट्ने तयारीमा छन् । चार वर्षसम्म मनपरी खर्च गरेकाले बुझबुझारथ गर्न नसकेको आरोप नासु पोखरेलमाथि छ ।

३ करोडभन्दा बढीका बिल भर्पाइ फर्जी भएको र अनियमितता देखिएकाले मिलाउन खोजे पनि नसकेपछि बुझबुझारथ गर्न नसकेको स्रोत बताउँछ । हिसाबकिताव चुस्तदुरुस्त पेश नगरेसम्म बुझबुझारथ नगर्ने अडानमा नयाँ स्टोरकिपर रोकाय छन् ।

बरबुझारथ गर्ने अवस्था नभएपछि सोही कार्यालयमा बस्न उनी १८ दिनसम्म पनि रमाना नलिई सरुवा रोक्न हरसम्भव प्रयासमा लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्