Logo
Logo

पाकिस्तानको पञ्जाबमा विद्यालयहरु बन्द हुँदा दुई करोड ६० लाख बालबालिका प्रभावित


एजेन्सी

189
Shares

लाहोर । पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबार सबै शैक्षिक संस्थाहरू बन्द भएका छन् । पञ्जाबका अधिकारीको निर्देशनपछि बन्द गरिएको हाे । पूर्व प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म समावेश गरिएको बन्दले पूर्वी पञ्जाब प्रान्तमा वयस्क विद्यार्थीका अतिरिक्त लगभग दुई करोड ६० लाख बालबालिका प्रभावित हुनेछन् ।

प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को एक भवनको पार्किङस्थल (भुईतल्ला)मा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि प्रदर्शन सुरु भएको हो । प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित अगाडि नआएको र अनलाइनमा आएको गलत सूचनालाई आधार मानेर आन्दोलित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

त्यसपछि लाहोरका साथै राजधानी इस्लामावादसँग जोडिएको रावलपिण्डी सहरका क्याम्पसहरूमा प्रदर्शनहरू फैलिएका छन् र विद्यार्थीहरूले अधिकारीहरूले यसलाई ढाकछोप गरेको आरोप लगाएका छन् । रावलपिण्डीका वरिष्ठ प्रहरी अधिकारी सैयद खालिद महमुद हमदानीले बिहीबार शहरमा भएको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा ३८० जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताउनुभएको छ । उनले एएफपीसँग भने, ‘हामी सामाजिक सञ्जालबाट हिंसात्मक गतिविधिमा सम्लग्न व्यक्तिको खोजी गर्नेछौँ ।’

पञ्जाबको शिक्षा र आन्तरिक विभागले बिहीबार अबेर राति तीन छुट्टाछुट्टै सूचना जारी गर्दै सबै शैक्षिक विभागहरू बन्द गर्न आदेश दिएको छ । प्रान्तीय आन्तरिकमामिला मन्त्रालयले पनि शुक्रबार र शनिबार भेला हुन प्रतिबन्ध लगाएको छ ।

रावलपिण्डीमा बिहीबार प्रदर्शन गरिरहेका १९ वर्षीय एक विद्यार्थीले भने, ‘उनीहरूले आफ्नो संस्थाको साख जोगाउनका लागि सत्यलाई ढाकछोप गर्न सरकार र उच्च अधिकारीहरूलाई घूस दिएका छन् ।’ यी प्रदर्शनहरूले पाकिस्तानी विद्यार्थीहरूको सुरक्षा, उत्पीडन र कलेजहरूमा महिलाहरूमाथि हुने यौन दुब्र्यवहारका साथै अधिकारी प्रतिको अविश्वासप्रति गहिरो चिन्ता व्यक्त गर्दछ ।

प्रदर्शनकारीहरूले लाहोरस्थित क्याम्पसहरूमा झ्यालहरू तोडफोड गर्नुका साथै विद्यालयका सवारी साधन (स्कूल बस) हरूमा आगजनी गरेका छन् । प्रदर्शनका क्रममा कैयौँ स्थानमा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ ।

प्रहरीले अनलाइन पोष्टमा पहिचान गरिएको भन्दै एक सुरक्षा गार्डलाई पक्राउ गरेको छ तर कुनै पनि पीडित अगाडि नआएको र उनीहरूले बलात्कारको आरोप पुष्टि गर्न नसकेको बताएका छन् । लाहोरका निजी पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘वास्तवमा यो घटनासँग सम्बन्धित कोही पनि व्यक्ति भेटिएको छैन ।’

उनले भने, ‘म राजीनामा दिन्छु र यो पेशा त्यागेर यदि घटना घट्यो भने म विद्यार्थीको साथमा उभिनेछु ।’ सो प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले गलत पोस्ट फैलाउनेलाई दण्डित गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्