Logo
Logo

साफ महिला च्याम्पियनसिपः इतिहासमा पहिलोपटक भुटानसँग बराबरीमा रोकियो नेपाल


1.1k
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा करिब दर्जन अवसर सदुपयोग गर्न नसक्दा नेपाल अंक बाड्न बाध्य भएको हो ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक कुनै पनि टिमसँग बराबरीमा रोकिएको हो । यसअघिका ६ संस्करणमा नेपालले खेलेका कुल २७ खेलमध्ये २१ मा जित र ६ खेलमा हार बेहोरेको इतिहास छ ।

खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालबाट २३औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकिनन् । भुटानको पेनाल्टी बक्समा पाएको बल उनले नियन्त्रणमा राखे पनि प्रहारका लागि केही समय लिँदा भुटानी गोलकिपरले खतरा टारिन् ।

२४औँ मिनेटमा पुनः रश्मिले अवसर सदुपयोग गर्न सकिनन् । यसपटक पनि रश्मिले प्रहारका लागि समय लिँदा उनको प्रहारले जाली चुक्न सकेन ।

त्यसको दुई मिनेटपछि नेपालले अर्को अवसर सदुपयोग गर्न सकेन । प्रीति राईले निकालेको थ्रू बलमा सरु लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो ।

४०औँ मिनेटमा नेपालले गोलको अवसर खेर फाल्यो । रश्मिले राइट साइडबाट गरेको क्रसलाई अमिशा कार्की, सविता रानाले प्रयास गरेपनि गोल निकाल्न सकेनन् ।

दोस्रो हाफमा पनि नेपाली करिब आधा दर्जन सुन्दर अवसरको सदुपयोग गर्न सकेन । इन्जुरी समयमा सविता रानामगरले बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर बाहिरिदा नेपालले अग्रता बनाउन सकेन ।

बराबरीसँग नेपाल र भुटानले समान एक अंक जोडेका छन् । प्रतियोगितामा नेपाल समूह बीमा छ । यस समूहमा नेपाल र भुटानसँगै माल्दिभ्स र श्रीलंका छन् ।

प्रतिक्रिया दिनुहोस्