Logo
Logo

पाटन प्रिमियर लिग : कुलगडे सुपर सिक्समा, पाटनको विजयी सुरुआत


252
Shares

बैतडी । कुलगडे क्रिकेट क्लब, बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा प्रवेश गरेको छ । कुलगडे समूह ‘डी’ बाट सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि समूह ‘ए’ बाट पाटन भ्याली क्रिकेट क्लबले सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ ।

आज भएको खेलमा दीपचन क्रिकेट क्लबलाई ७५ रनले पराजित गर्दै दोस्रो जितका साथ कुलगडे सुपर सिक्समा प्रवेश गरेको हो । कुलगडेले दिएको २०१ को रनको लक्ष्य पछ्याएको दीपचनले १९ दशमलव १ ओभरमा १२५ रनमा सीमित भयो । आकाश भट्टराईले २१ तथा अमन रावलले २० रन जोड्नबाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कुलगडेका केशव बोहरा र पङ्कज लुहारले समान तीन–तीन विकेट लिए ।

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कुलगडेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० सय रन बनाएको थियो । कुलगडेका पङ्कज लुहारले ५२, नवीन ठगुन्नाले ४० रन बनाएका बनाए ।

दीपचनका प्रकाश चन्द र शङ्कर टेलरले समान दुई–दुई विकेट लिए । कुलगडेका पङ्कज ‘म्यान अफ द म्याच’ भएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

यस्तै, आजै भएको दोस्रो खेलमा आयोजक पाटन क्रिकेट क्लबले नवजागृति क्रिकेट क्लबलाई हराएको छ । पहिला ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२० रन बनायो । जसमा सुमित बुडालले ६६ र दीपक बोहराले ४७ रनको योगदान गरे । नवजागृतिका सचिन विक र मोहन ठगुन्नाले दुई/दुई विकेट झारे ।

जवाफी ब्याटिङमा नवजागृति ३६ रनमा ‘अलआउट’ भयो । उसका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । पाटनका सुभाष विष्टले पाँच विकेट हात पारे । सुभाष ‘प्लेयर अफ द म्याच’ पनि चुनिए ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो । द्वितीय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी, ‘म्यान अफ दी सिरज’ बापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘बेस्ट बलर’ र ‘ब्याट्सम्यान’लाई पनि समान ६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसअघि, पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआई) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्