Logo
Logo

सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण सार्वजनिक


315
Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सार्वजनिक गरेको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको उल्लेख छ । मन्त्रालयले उक्त अवधिमा लिइएका ११ वटामध्ये आठ लक्ष्य हासिल भइसकेको र तीन वटा योजना चालु अवस्थामा रहेको जनाएको छ ।

मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्री सिंहले मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत काम अघि बढेको बताए । ‘दमकको व्यापारिक भवन, बुटवलको सभाहल, धरहराजस्ता ठूला संरचना निर्माण भइसकेको छ, अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा गठनादेश बनाएर मन्त्रिपरिषद्मै पठाएका छौँ’, उनले भने ।

मन्त्रालयले गत असोज ३ गतेदेखि सर्वसाधरणका लागि धरहरा परिसरमा निर्मित मुख्य संरचनामा पहुँच खुला गरेको विषयलाई पनि उपलब्धिका रुपमा प्रस्तुत गरिएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा सात वटा स्वास्थ्य भवन निर्माण भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु, पाँचथर, लुङरुपा आयुर्वेद औषधालय पाँचथर, डडेलधुरा उपक्षेत्रीय अस्पताल भवन, इसिबु स्वास्थ्य चौकी भवन, ते¥हथुम, मारेकहटहरे स्वास्थ्यचौकी र मूर्तिढुङ्गा स्वास्थ्यचौकी धनकुटा र थोक्लुङ स्वास्थ्यचौकी ते¥हथुमको निर्माण भइसकेको छ । जाजरकोट र रुकुमपूर्वमा भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनःनिर्माण पनि सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

ललितपुरको भैँसेपाटीमा मन्त्री आवास निर्माण सम्पन्न भई १८ जना सङ्घीयमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष र जवान लाइनको तीनवटै भवनमा सुरक्षाकर्मी बसिसकेको तथा बाँकी मन्त्री पनि केही दिनमा सर्ने तयारी भइरहेको उनको भनाइ छ ।

दमक व्यापारिक कम्प्लेक्स, चितवन सौराहा सभाहल निर्माण, नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गरी हस्तान्तरण भइसकेको छ । साथै पच्चिस वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण पनि पूरा भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माणको लक्ष्य लिइएकामा ४० वटा सम्पन्न भएको र १० वटा निर्माणाधिन अवस्थामा छन् ।

सचिव गेलालका अनुसार पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण मानिएको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा आइसकेको छ । काठमाडौँको गोकर्णदेखि गुह्येश्वरीसम्मको छ किमी क्षेत्रमा ढल व्यवस्थापनको काम पूरा भएको छ । साथै एक महिनाभित्र गोकर्णदेखि गुह्येश्वरीसम्म ढलमुक्त बनाउने योजना रहेको सचिव गेलालले बताए ।

प्रतिक्रिया दिनुहोस्