Logo
Logo

खेलकुदमन्त्री द्वन्द्वग्रस्त रुस भ्रमणमा, तोकिएन कार्यवाहक 


189
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी द्वन्दग्रस्त मुलुक रसियाको भ्रमणमा छन् । रुस–युक्रेन युद्ध चर्किएपछि नेपाल सरकारले ती दुवै देशको भ्रमणमा नेपालीलाई रोक लगाएको छ ।

तर सरकारको प्रतिनिधिका रुपमा भने मन्त्री चौधरी रुस भ्रमणमा जानुलाई आश्चर्यका रुपमा हेरिएको छ । रुस–युक्रेनबीच भीषण गोला बारुद चलिरहेको गम्भीर सुरक्षा चुनौती देखिएको देशको भ्रमणमा मन्त्रीपरिषद्ले स्वीकृति दिएर मन्त्रीलाई किन पठाइयो भन्ने प्रश्न खडा भएको छ ।

नेपालले खुलेर कसैको समर्थन नगरे पनि अमेरिकी चाहना अनुसार युक्रेनप्रति नरमपन्थी व्यवहार गर्ने नीति लिएको पाइन्छ । यस्तो अवस्थामा आफ्नै देशले समेत खुलेर समर्थन गर्न नसकेको रुसको भ्रमणमा मन्त्री चौधरी निस्किएका छन् ।

गएको असोज २१ गतेको मन्त्रिपरिषद् बैठकले कात्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने रसिया कन्ट्री अफ स्पोर्टस् फोरममा भाग लिन मन्त्री चौधरीलाई अनुमति दिएको थियो ।

द्वन्दग्रस्त मुलुकमा चौधरीलाई पठाउने वा नपठाउने भन्नेबारेमा मन्त्रीपरिषद्मा सामान्य छलफल समेत नगरी सिधै प्रस्ताव पारित गरिएको थियो ।

मन्त्रीपरिषद्को निर्णय अनुसार मन्त्री चौधरी निजी सचिव घनश्याम भुसाललाई साथमा लिएर असोज ३० गते रुस प्रस्थान गरेका थिए । मन्त्रालयका सूचना अधिकारी लेखनाथ न्यौपानेका अनुसार उनी कात्तिक ५ गते रुसबाट नेपाल फर्किने र ६ गते आइपुग्ने कार्यक्रम छ ।

कुनै पनि मन्त्री विदेश प्रस्थान गरेपछि अर्को वरिष्ठ मन्त्रीलाई कार्यवाहक तोक्नुपर्ने कानुनी व्यवस्था छ । तर मन्त्री चौधरी विदेश गएर फर्किने बेलासम्म पनि युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीको रुपमा कसैलाई पनि कार्यवाहक दिएको आफूलाई थाहा नभएको सूचना अधिकारी न्यौपानेले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले खेलकुद मन्त्रीको अनुपस्थितिमा कामकाज गर्न कसैलाई तोकिएको जानकारी अहिलेसम्म आफूकहाँ नआइपुगेको बताए । उनले भने–कार्यवाहक तोकिएको भए प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको होला ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र खेलकुद मन्त्रालय दुवैको वेबसाइटमा कार्यवाहक मन्त्री तोकिएको सूचना राखिएको छैन । प्रधानमन्त्री कार्यालयले कतिसम्म हेलचक्र्याइँ गरेको छ भने कृषिमन्त्री रामनाथ अधिकारी इटली जाँदा कानुन मन्त्री अजय चौरसियालाई कार्यवाहक तोकिएको विज्ञप्ति असोज ३० को मितिमा जारी गरिएको छ ।

त्यसअघि र पछिका कुनै पनि सूचनामा खेलकुद मन्त्री विदेश गएको र उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार अर्को मन्त्रीलाई दिइएको सूचना ब्यहोरा उल्लेख नहुनुले प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्रालयलाई मन्त्रीविहीन राखेको पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्