Logo
Logo

माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल, प्रीति र रेखाको ह्याट्रिक


1.4k
Shares

काठमाडौं साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ ।

दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोल गोल अन्तरले हराएको हो । यो जितसँगै नेपालले सेमिफाइन सम्भावना बलियो बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई फराकिलो जित दिलाउन रेखाले पाँच गोल गरे । यस्तै, प्रीति राईले ह्याट्रिक गर्दा सविता रानामगर, अनिता केसी र अमिषा कार्कीले एक–एक गोल गरे ।

खेलको अधिकांश समय आक्रमण बुनेको नेपालाई छैटौँ मिनेटमा प्रीतिले गोल गर्दै अग्रता दिए । २९औँ मिनेटमा सविताले नेपालको अग्रता दोब्बर बनाए ।

३२औँ मिनेटमा रेखाले गोल गर्दै नेपालको अग्रता ३–० को बन्यो । ४२औँ मिनेटमा रेखाले दोस्रो गोल गर्दा नेपालले अग्रताालाई ४–० मा पूर्यायो ।

४८औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गर्दै नेपालको अग्रतालाई ५–० मा पूर्याए । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको यो पहिलो ह्याट्रिक हो ।

६३औँ मिनेटमा रेखाले बक्सभित्र पाएको बल नियन्त्रणमा लिँदै ‘वान भर्सेस वान’ मा माल्दिभ्सकी गोलकिपरलाई सहजै बिट गर्दै अग्रतालाई ६–० मा पूर्याए ।

त्यसको दुई मिनेटपछि नै प्रीति राईले गोल गर्दै नेपालको अग्रतालाई ७–० को अग्रता दिलाए । ६८औँ मिनेटमा ‘सब्सिच्युट’ अनिताले गोल गर्दै नेपाललाई ८–० को अग्रता दिलाए । अनिताले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गरेका हुन् । उनी ६७औँ मिनेटमा रश्मीकुमारी घिसिङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

७८औँ मिनेटमा रेखाले नेपालबाट पाँचौ गोल नेपालको अग्रता ९–० को बन्यो । यस्तै, ८७औँ मिनेटमा प्रीतिले पेनाल्टी सदुपयोग गर्दै गोल गर्दा नेपालले अग्रतालाई १०–० मा पूर्याएको थियो । त्यसको अर्को मिनेटमै अमिषा कार्की नेपाली टिमका लागि ११औँ गोल गरे।

जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । नेपाल यसअघि पहिलो खेलमा भुटानविरुद्ध गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध खेल्नेछ । यो खेल बिहीबार दशरथ रंगशालामै हुने तालिका छ ।

दुई खेलमध्ये दुवैमा हार बेहोरेको माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको माल्दिभ्स यसअघि पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्