Logo
Logo

औषधीको मूल्य र गुणस्तरबारे सुझाव दिन समिति गठन


126
Shares

काठमाडौं । उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । आज (मंगलबार) मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् ।

गठित समितिको सदस्यमा स्वास्थ्यविद् डा. अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा. देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन् । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव छन् । समितिलाई उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ ।

समितिलाई छिमेकी देशहरूले अपनाएका औषधीको मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी उपयुक्त हुने आधारहरू पहिचान गरी गर्नुपर्ने नीतिगत सुधारसम्बन्धी सुझाव दिन पनि भनिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिले औषधीको मूल्य सम्बन्धित विषयवस्तुबारे अभ्यास पुनरावलोकन समेत गरेर गुणस्तर पहिचान समेत गरी सुझाव सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्