Logo
Logo

रास्वपाले भन्यो- राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भयो


756
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भएको बताएको छ । आज पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले अहिलेसम्म आफूहरुको दाबी भएपनि शुक्रबार साँझको घटनाले त्यसको पुष्टि गरेको बताएका हुन् ।

हिरासतमा राखेको १२५ घण्टामा ४, ५ घण्टामात्रै बयान लिने र आलटाल गर्ने कुराले यसलाई पुष्टि गरेको उनको भनाइ छ । ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो, हिजो साँझबाट त्यसको पुष्टि भएको छ’ वाग्ले भने, ‘शुक्रबार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०–११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ ।’ उनले त्यो समयमा ४–५ घण्टा मात्रै बयान लिएको बताउँदै भने, ‘आलटाल गर्ने । के उहाँलाई यहाँ दालभात खुवाउन ल्याएको हो ?’

के सोध्ने भनेर तयारी नगरी हिरासतमा किन राखियो भन्दै वाग्लेले आक्रोश पोख्दै भने, ‘तयारी थिएन पहिला ? के सोध्ने भन्ने थाहा छैन ? पहिला थुन्ने अनि सोध्न थाल्ने ? यो मानमर्दन गर्ने शैली सरकारको तेरो सेखी झार्छु देखाइदिन्छु भन्ने शैलीमा सरकार छ । यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भन्छन् ।’

रवि लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले पहिलोपटक दिएको म्याद आज सकिँदै छ । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुनेगरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराउँदै छ ।

प्रतिक्रिया दिनुहोस्