Logo
Logo

परराष्ट्रका एक दर्जन कर्मचारी यूरोप भ्रमणमा


441
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीले फ्रान्सको आईडीईएमआईको स्पोन्सरमा युरोप भ्रमण गरेका छन् । मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार असोज ७ गते परराष्ट्र मन्त्रालयका कर्मचारीलाई सो कम्पनीले युरोप पुर्याएको थियो ।

यसरी नीजि कम्पनीको खर्चमा युरोप जानेमा राहदानी विभागका कर्मचारीहरु म्युनिक आचार्य, नगेन्द्रबरसिंह थापा, रामकुमार श्रेष्ठ, सुवास मगर, प्रतिमा भुसाल, पुष्करराज नेपाल, मनोजकुमार सिंह, विवेक रिजाल, प्रतिकराज जोशी, कृष्णप्रसाद चापागाईँ, कुञ्जन शाह लगायतका छन् । उनीहरु असोज ७ अर्थात २३ सेप्टेम्बरमा काठमाडौंबाट भिस्तारा एयरवेजबाट भारतको नयाँ दिल्ली, त्यहाँबाट फ्रान्सको पेरिस हुँदै चेक रिपब्लिक पुगेर उनीहरू फर्किएका थिए ।

ई–पासपोर्टको नयाँ टेण्डर आह्वान गर्ने बेलामा उनीहरुलाई यूरोप भ्रमण गराउनु रहस्यमय भएको विभागकै एक कर्मचारीले भने । ‘टेन्डर डकुमेन्ट तयारी भइरेको बेला टेन्डरमा सहभागी हुने एउटा कम्पनीको भ्रमणमा कर्मचारीमात्र होइन विभागका महानिर्देशक तथा अन्य उच्चपदस्थहरू यसअघि बैंकक, फिलिपिन्स भ्रमण गरेर फर्किएका छन्’, स्रोतले भन्यो ।

करिब पन्ध्र वर्षदेखि नेपालको पासपोर्ट छपाइमा एकछत्र राज गर्दै आएको आईडीईएमआईले नयाँ टेन्डर पनि लिनका लागि कर्मचारीलाई प्रभावित पार्न यूरोप घुमाएको स्रोतको दावी छ । यसअघि नै टेन्डरभन्दा पनि भेरियसनबाट धेरै छपाइ गरेर नाफा बढाएको कम्पनीले नयाँ टेन्डर हत्याउनका लागि हरसम्भव प्रयास गरिरहेको विभागका एक कर्मचारीले भने ।

टेन्डर डकुमेन्ट तयारीकै क्रममा विभागमा कार्यरत एक दर्जन कर्मचारी आईडीईएमआईकै स्पोन्सरमा युरोप भ्रमण गरेर आएपछि थप शंका बढेको स्रोतले जनाएको छ । अहिलेको छपाइको जिम्मा पाएपनि पछिका लागि प्रतिस्पर्धी कम्पनी भएकाले यस्तो कम्पनीको खर्चमा कर्मचारीहरु विदेश भ्रमणमा जान नहुने दावी गरेपनि विभागका कर्मचारीले वेवास्था गरेका छन् । टेण्डर डकुमेन्ट तयारीमा प्रभावशाली भूमिकामा रहनेहरु नै आईडीईएमआईको लगानीमा युरोप भ्रमण गरेर नेपाल आएपछि उनीहरु नै टेण्डरको तयारीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्