Logo
Logo

इलाममा फस्टाउँदै प्याजखेती


315
Shares

इलाम । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् ।

सन्दकपुर गाउँपालिका–३ सुलुबुङका प्रकाश पराजुलीले यस वर्ष ६५ मन (दुई हजार छ सय केजी) प्याज उत्पादन गरे । ’प्रतिमन दुई हजारका दरले ६० मन बिक्री गरेँ, आफूलाई खान र छरछिमेक, आफन्तकोमा कोसेली पुर्याउँदा पाँच मनजति सकियो,’ पराजुलीले भने।

गाउँपालिकाको ५० प्रतिशत सहयोगमा पिआई–१७२ जातको दुई सय ग्राम बीउ रोपण गरेका पराजुलीले एक लाख २५ हजारको प्याज बिक्री गरेका छन् ।

’जम्मा ३२ हजार खर्च कटाएर खुद ९३ हजार बचत भयो । नयाँ हाइब्रिट जातको प्याज लगाउँदा यहाँको माटोमा फस्टाउने रहेछ,’ उनले भने,’लोकल जातका प्याज त तीन वर्षअघि नै सय मन फलाएको थिएँ । त्यो बेला समयमा बजार पुर्याउन सकिएन, भण्डारण व्यवस्थापन गर्न नसक्दा कुहिएर घाटा भयो । अहिलेचाहिँ बजारको समस्या छैन । बाटो राम्रो छ घरमै पनि आउँछन् व्यापारी ।’

जिल्लामा एक सय १५ हेक्टर जमिनमा प्याजखेती हुने गरेको कृषि ज्ञान केन्द्रसँग तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार आठ सय ७४ मेट्रिक टन प्याज उत्पादन भएकामा आव २०८०/८१ मा एक सय मेट्रिक टन बढी प्याज उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले जानकारी दिए ।

सन्दकपुर–३ कै अर्का किसान विष्णु खनालले १९ मन र माइजोगमाई गाउँपालिका–३ का किसान मोहन सुवेदीले पनि यो वर्ष चार मन प्याज फलाएका छन् ।’७० प्रतिकिलोका दरले बिक्री गरेँ । बाँदरले अन्य खेती र तरकारीसमेत नष्ट गरेकाले यो वर्ष प्याज अलि बढी रोपियो, उत्पादन पनि राम्रो भयो,’ सुवेदीले भने, ’प्याजमा मेहनत गर्ने हो भने यसको बजार र आम्दानी राम्रै हुनेरहेछ ।’

प्याजको राम्रो उत्पादनका लागि ६० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि प्राविधिक प्रभु शाहले बताए । ’प्याजको वृद्धि विकासका लागि १३ देखि २५ डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक हुन्छ, पानी नजम्ने र प्राङ्गारिक पदार्थ प्रशस्त भएको माटो उपयुक्त हुन्छ, माटोमा पिएच ५ दशमलव ८ देखि ६ दशमलव ५ हुनुपर्दछ,’ शाहले भने ।

सूर्योदयका अगुवा किसान मदन राईले प्याज रोप्नुअघि जमिनको तयारी राम्रो गर्नुपर्ने अनुभव सुनाए । ’खनजोत गहिरो, डल्ला फुटाउने, झार जिलाउने, माटो मसिनो र बुरबुराउँदो बनाउनुपर्ने रहेछ । राम्ररी पाकेको गोबर मलको प्रयोग राम्रो हुँदोरहेछ, एक दिन अगाडि नै बीउलाई पानीमा भिजाएर उमार्नुपर्छ । नर्सरीमा राम्रोसँग उम्रेका बिरुवा ८–१० हप्तामा रोप्नलायक हुन्छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्