Logo
Logo

सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न उपप्रधानमन्त्री पौडेलको आग्रह


252
Shares

वासिङ्टन डिसी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा रहेका अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरुसँग भएको राउण्डटेवल बैठकमा उक्त आग्रह गरेका हुन् ।

नेपालमा अन्य मुलुकको तुलनामा लगानीकर्ताका लागि सस्तो र गुणस्तरीय सूचना प्रविधि सम्बद्ध जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले कानूनी र प्रक्रियागत सुधार गरी लगानीको वातावरण तयार गरिएकाले सो को लाभ उठाउन अमेरिकी व्यावसायीलाई आग्रह गरे ।

सूचना प्रवधिको क्षेत्रमा एक डलरमै कम्पनी स्थापना गर्न सक्ने र पाँच वर्षसम्म आयकरमा पचास प्रतिशत छुट दिने सरकारको नीतिबारे जानकारी दिँदै उपप्रधानमन्त्री पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा युएस चेम्बर अफ कमर्स दक्षिण एसिया उपक्षेत्रका बरिष्ठ उपाध्यक्ष अतुल केशपले दर्जनौँ अमेरिकी कम्पनी नेपालमा लगानी गर्न चासो र उत्सुक रहेको बताएका थिए ।

उनले नेपाल सरकारले गरेको लगानीसँग सम्वन्धित दर्जन हाराहरी कानूनको सुधार एवं परिमार्जन, सार्वभौम क्रेडिट रेटिङ र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठनले व्यावसायिक वातावरण बनाउनमा योगदान गरेको उल्लेख गर्दै नेपालले गरेको सुरधार प्रयासको प्रशंसा पनि गरेका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीको लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण बनेको उल्लेख गर्दै अमेरिकी उद्यमी व्यावसायीलाई नेपालमा लगानी विस्तार गरी लाभ लिन आग्रह गरे । कार्यक्रममा उपस्थित युएस चेम्वर अफ कमर्सका प्रतिनिधिहरुले नेपालमा सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा लगानी गर्नका लागि उत्सुक रहेको धारणा राखेका थिए।

यसैबीच आजै उपप्रधानमन्त्री पौडेलसँग अन्तराष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिको भेटवार्ता भएको छ । भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा सुविधा, नीतिगत सल्लाह सुझाव र क्षमता विकास लगायतका विभिन्न कार्यक्रम मार्फत नेपालको आर्थिक विकासमा कोषले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा कोषले थप योगदान गर्ने अपेक्षा समेत राखेका थिए ।

भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाको मूल्याँकनले नेपालको अर्थतन्त्रमा सुधार भइरहेको देखाएको तथ्य उल्लेख गर्दै आगामी दिनमा कोषका सुझावहरुलाई समेत ध्यानमा राखि आर्थिक सुधारका कार्य अगाडी वढाउने जानकारी दिएका थिए ।

उपप्रधानमन्त्री पौडेलसँग आजै मिलेनियम च्यालेन्ज कर्पोरेशन–एमसिसिका सिईओ एलिस अलब्राईट र उपाध्यक्ष क्यामरन अल्फर्डको समेत भेटवार्ता भएको थियो । भेटका क्रममा नेपालमा एमसिसि परियोजना कार्यान्वयनको पछिल्लो प्रगति अवस्था र थप वित्तीय सहायता परिचालनका सम्वन्धमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्