काठमाडौं । तिहार फ्लोरा एक्स्पो -२०८१ शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।
‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ सुरु भएको एक्सपोको उद्घाटन गर्दे बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वन भित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने बताए ।
मन्त्री सिलवालले पुष्प व्यवसाय प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरिने बताए । रैथाने जातका लालीगुराँस, सुनगाभालाई पनि विश्व बजारमा लैजाने गरी उत्पादन गर्न जोड दिँदै यस्ता उत्पादन निर्यात गरेर युवालाई स्वदेशमै रोजगार सृजना गर्न सकिने उनले बताए ।
प्राकृतिक फूलको प्रयोग गरी प्लाष्टिकजन्य फूलको प्रयोग पूर्णरुपमा निषेध गर्न सुझाउँदै गत असोज दोस्रो साताको अविरल वर्षाका कारण नर्सरी व्यवसायमा भएको क्षतिको विवरण पेश गरे राहतका लागि सहयोग हुने पनि मन्त्री सिलवालले बताए ।
मेला संयोजक एवम् नर्सरी व्यवसायी संघ नेपालको उपाध्यक्ष लक्ष्मी महर्जनले ‘पाँचदिन सम्म चल्ने तिहार फ्लोरा एक्स्पो-२०८१ मा ६५ वटा फूल तथा नर्सरीको व्यावसायिक स्टल तथा परामर्श कक्षको ब्यवस्था पनि भएको बताए । उनले पाँच दिनसम्म चल्ने मेलामा ७० लाख बढीको कारोबार हुने अपेक्षा राखेको बताए ।
मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक फूल बिरुवाहरू लगायत कृषि तथा वन, जडिबुट्टि नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध ७ सय बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी बिउ बिजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल राखिएको छ । एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ । मेलको पहिलो दिन फूल तथा नर्सरीका पारखीहरु र अवलोकनकर्ताहरूको भीडभाड रहेको छ ।