काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकार दलाल बिचौलियाले बनाएको पुष्टि भएको बताएका छन् । शनिवार काठमाडौंको भृकुटीमण्डपमा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा बोल्दै सापकोटाले यस्तो बताएका हुन् ।
उनले अहिले देशमा पहिलो र दोस्रो ठुलो दलबाट बनेको सरकार अरू कसैले बनाइदिएको सरकार भएको पुष्टि भएको दावी गरे । उनले जब जनताले सरकारबाट दुःख र सास्ती पाउँछ तब माओवादी अगाडि आउने गरेको पनि बताए ।
सरकार नेपाली जनताको नभएर सीमित दलाल पुँजीपति व्यापारी र माफियाको भएको भन्दै उनले माओवादी जिम्मेवार प्रतिपक्षी दल र युग परिवर्तनमा भूमिका खेलेको पार्टी भएका कारण जनताको विपत्तिमा टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।
असोज ७ गतेदेखि मौसम विभागले दिएको सूचनालाई सरकारले बेवास्ता गरेका कारण देशमा ठुलो जनधनको क्षति भएको बताउँदै उनले पटक पटक संसद् विघटन गर्ने पार्टीले लोकतन्त्रको दुहाई दिन नसुहाउने भन्दै फेरि दल फुटाउन अध्यादेश ल्याउन खोजेकोमा उनले आपत्ति जनाए ।
अहिले सरकारलाई काठमाडौँबाट खबरदारी गरेपनि सुनेन भने देशव्यापी रूपमा खबरदारी गर्न तयार रहेको उल्लेख गर्दै उनले भने, ‘यो सरकारले भ्रष्टाचारी र बिचौलियालाई संरक्षण गरेको छ ।’