Logo
Logo

पाटन प्रिमियर लिग : सुपर सिक्समा आयोजकको शानदार सुरुआत


252
Shares

बैतडी । बैतडीको पाटनमा जारी चौथौँ संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लबले शानदार सुरुआत गरेको छ ।

आजको खेलमा पाटनले कुलगडे क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्यो । कुलगडेले दिएको ५६ रनको झिनो लक्ष्य पाटनले ४ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा सचिन साउदले २४ र सुमित बुडालले १४ रनको योगदान गरे ।

कुलगडेका सुरज ठगुन्नाले १ विकेट लिए । यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको कुलगडे ११ दशमलव १ ओभरमा ५५ रनमा अलआउट भयो । पञ्कज लुहारले १७ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कुलगडेको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच भएको पञ्कज पन्तले ३, शुभाष विष्ट र सुशील भाटले २/२ विकेट हात पारेको स्कोरर तिलक बोहराले बताए ।

यो जितले पाटनको सेमिफाइनल पुग्ने सम्भावना निकै रहेको छ । यसअघि आजै सम्पन्न अर्काे सुपर सिक्सको खेलमा पाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले स्तब्ध पार्दै कोइनोडा गुरूखोला लायन्सले फराकिलो जित दर्ता गरेको थियो ।

प्रतियोगिताअन्तर्गत आइतबार पनि सुपर सिक्सका दुई खेल हुनेछन् । पहिलो खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर गाउँपालिका खेल्दा दोस्रोमा पाटन भ्याली क्रिकेट क्लब र निङलाशैनी क्रिकेट क्लबबीच भीडन्त हुनेछ ।  

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता छ । तियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्