काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खेलाडीहरुलाई सम्मान गरेको छ । गैरआवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ का अवसरमा सोमबार राष्ट्रका लागि मेडल ल्याउने खेलाडीलाई सम्मान गरिएको हो ।
प्यारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्धनलाई खेलकुदमन्त्री तेजुलाल चौधरी र एनआरएन युवा उपाध्यक्ष रोशन थापाले ३० हजार नगद र प्रमाणपत्र प्रदान गरे । समारोहमा प्लेशाका बुवाका प्रदिप गोवर्धनले पुरस्कार ग्रहण गरेका थिए ।
यस्तै, कराँतेमा प्रथम एसियन रजत पदक विजेता एरिका गुरुङलाई २५ हजार नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
अष्ट्रियाको भियनामा सम्पन्न गुरोरियो कराँतेको कातातर्फ स्वर्ण पदक विजेता एनआरनएका खेलाडी एनोज महर्जनलाई २० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा एमाले नेता पदम गिरी, एकीकृत समाजवादीकी रामकुमारी झाँक्री, एमालेकै अब्दुस मियाँ, कांग्रेसका केदार कार्की उपस्थित थिए ।