Logo
Logo

सशस्त्रका एसपीमाथि गम्भीर आरोप


3.5k
Shares

काठमाडौं । आफूमातहत रहेका प्रहरी कर्मचारीले दुई नाबालिकालाई बलात्कार गर्दा पनि समयमै प्रहरीलाई नबुझाउँदा सिंगो संगठनमाथि नैतिक प्रश्न उठाइएको छ । सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ का प्रमुख एसपी रमेश थापाले मातहतका दुई प्रहरी कर्मचारीलाई जोगाउन खोज्दा यस्तो प्रश्न उठेको हो ।

दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको विषयमा सशस्त्र प्रहरीका एसपी नै बचाउन लागेपछि उनी विवादमा तानिएका छन् । विवादकै घेरामा रहेका एसपी थापाले दुई कर्मचारीलाई जोगाउन खोज्दा स्थानीयहरुले गणमा घेरा हाल्नुपर्ने अवस्था सिर्जना भएको थियो । उनले सशस्त्र प्रहरीलाई बद्नाम गराउने कोसिस गरेपछि सशस्त्र मुख्यालयले पनि नोटिसमा लिएको जनाएको छ ।

एसपी थापाले लुकाउन खोजे पनि नेपाल प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बालिका बलात्कृत भएको १५ दिनपछि मात्रै आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन् । उनीहरुले बलात्कार गरेको विषयमा गणभित्र यसअघि नै थाहा भए पनि त्यहाँका एसपी थापाले लुकाउन खोज्दा आरोपीहरु पक्राउ पर्न सकेका थिएनन् ।

सो आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका छन् । ‘राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन्’, लुम्बिनी प्रदेश प्रमुख डीआइजी कुबेर कठायतले बताए ।

सशस्त्र कार्यालय बाहिर दशैँमा पिङ खेल्न गएको बेला ती हवल्दारले दुई बालिकालाई बलात्कार गरेको खुलेको छ । गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएको हो सशस्त्र प्रहरी मुख्यालय जनाएको छ ।

‘सशस्त्र प्रहरीका दुई कर्मचारीमाथि आरोप लागेपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ सशस्त्र प्रहरीले जिम्मा लगाइसकेपछि निष्पक्ष अनुसन्धान हुने अपेक्षा गरेका छौँ’, सशस्त्र प्रहरी मुख्यालयका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दृष्टिसँग भने ।

घटना असोज २४ गतेको भएपनि ढाकछोपका कारणले ढिला गरी सार्वजनिक भएको हो । उनीहरूलाई हिजो जिल्ला अदालत दाङबाट अनुसन्धान लागि म्याद थप गरिएको छ । दसैंको समयमा, असोज २४ गते बेलुकीपख गणनजिकै पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकामाथि अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही रात प्रहरीलाई सूचना दिएका थिए ।

सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान थाले पनि बलात्कारमा संलग्न भनिएका व्यक्तिको पहिचान हुन सकिरहेको थिएन । ‘सशस्त्र प्रहरीकै एसपी थापाले उनीहरुलाई संरक्षण गरेको देखियो’,स्रोतले भन्यो । प्रहरीले लामो समयसम्म पनि दोषी पहिचान गरी नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयले बुधबार विरोध गरेका थिए ।

बुधबार त स्थानीयले भालुवाङ बजार बन्द गराउनुका साथै त्यहाँको सशस्त्र प्रहरीको २९ नम्बर ज्वालामाई गणमासमेत घेराउ गर्दै आरोपितलाई नजोगाउन माग गरेपछि बाध्य भएर एसपी थापाले उनीहरुलाई अनुसन्धानका लागि जिम्मा लगाएका हुन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपीथापाले घटना अनुसन्धानका लागि सशस्त्र प्रहरीले निष्पक्ष रूपमा सघाउने बताए ।

प्रतिक्रिया दिनुहोस्