Logo
Logo

मीनबहादुर गुरुङ भन्छन्- एमालेप्रति मलाई गर्व छ


1.9k
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र मैले संयुक्त रुपमा एमालेको नवनिर्मित भवनको शिलान्यास गरेपछि तरंग उत्पन्न भयो । सामाजिक सञ्जालमा सकारात्मक, नकारात्मक टिप्पणीहरु आए । एउटा व्यवसायीले सहयोगस्वरुप राजनीतिक पार्टीलाई दिएको ‘दान’ लिन हुन्छ कि हुन्न भन्ने तर्कहरु भए । म र एमाले पार्टीलाई जोडेर जे जस्तो टिप्पणी, आलोचनाहरु भएका छन्, त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।

कतिपयले अर्बौंको दान एमालेलाई दिनुभन्दा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिए राम्रो हुने थियो भनेर पनि सामाजिक सञ्जालमा लेखे । कतिपयले बाढीपीडितलाई सहयोग गरेको भए राम्रो हुन्थ्यो भन्ने सुझाव पनि दिए । केहीले ललिता निवाससँग जोडे, केहीले नक्कली भ्याट बिलसँग पनि जोडे । र, केहीले भविष्यको सांसद भनेर टिप्पणी पनि गरे ।

वास्तवमा, म एउटा सामान्य व्यापारी हुँ । विद्यार्थीकालदेखि नै म कम्युनिष्ट विचारसँग आबद्ध भएकोले एमालेसँग मेरो भावनात्मक सम्बन्ध छ । तर म पार्टी सदस्य भने होइन । त्यही भएर मैले एमालेको नयाँ भवन बनाउने अठोट लिएको हुँ । त्यो भवन बनाएबापत एमालेसँग मैले केही लिनु छैन । सांसदको प्रस्ताव त मैले २०६४ सालमै त्यागेको हुँ । मेरी श्रीमती सावित्री गुरुङले राजनीतिमा लाग्न हुन्न भनेपछि तुरुन्तै प्रस्ताव गर्ने व्यक्तिलाई मेरो रुचि छैन भनेर जवाफ दिएको थिएँ । त्यति मात्र होइन, त्यतिबेला संविधानसभाको सांसद भएका मेरा निकटका साथीभाइलाई पनि ‘तपाईँले गल्ती गर्नुभयो’ भनेर सम्झाएको हुँ ।

सबैभन्दा ठूलो कुरा धन होइन, मन हो । धन त मसँग भन्दा कयौँ गुणा बढी अन्य व्यापारीहरुसँग पनि छ । आज पनि मेरो बैंकको ऋण १६ अर्ब ५० करोडभन्दा बढी छ । तर, मैले यो सबै कुरा बिर्सेर एमालेकै भवन बनाइदिने निष्कर्षमा पुग्नु अगाडि ईश्वर पोखरेलसँग धेरैपटक सल्लाह गरे । उहाँ पार्टीको भवन निर्माण समितिको संयोजकको नाताले एमालेको भवन बनाउने, जग्गा खोज्ने, स्रोत जुटाउनेबारे धेरै सल्लाह पनि भयो ।

यसै क्रममा बल्खुको भवन हेर्न पनि गइयो । त्यहीँ ठाउँमा बनाउन पाए राम्रो हुन्थ्यो भन्ने पनि मलाई लागेको थियो । तर, त्यो पनि बल्खु खोलाको छेउमा छ, भविष्यमा बाढीको खतरा छ । त्यो भन्दा पनि अप्ठेरो कुरा सर्वोच्च अदालतको खोला छेउ २० मिटर छोड्नुपर्ने आदेशले त्यो ठाउँ उपयुक्त देखिनँ ।

रिङरोड छेउछाउ १०–१५ रोपनी जग्गा पाउनै मुस्किल छ । त्यसैले सोचे, कति जग्गा खोजेर समय बिताउने, बरु कीर्तिपुर मित्रनगरस्थित मेरै जग्गा दिन्छु भनेर मनमनै सोचे र ईश्वर पोखरेलसँग सल्लाह गरेँ । पार्टीले मेरो प्रस्ताव स्वीकारेपछि मैले जग्गा र भवन बनाइदिने प्रतिबद्धता जनाएको हुँ । त्यसमा मेरो कुनै पनि स्वार्थ छैन ।

पैसा कमाउन कति दुःख छ भन्ने कुरा मैले भोगेको छु । खोटाङबाट काठमाडौँ आएर डेरामा बस्दा कति दुःख भोगे होला । त्यसपछि नेपाल बैंकमा जागिर खाएँ । जागिरले मात्रै के पुग्थ्यो, श्रीमतीको गहना बेचेर भाटभटेनीमा कोल्ड स्टोर खोले । एकातिर जागिर अर्कोतिर भर्खरै खोलेको पसल, दिनरात हामी बुढाबूढीले मेहनत ग¥यौं । स–साना बालबच्चा हुर्कायौं, कति संघर्ष ग¥यौं होला ? त्यही संघर्षको फल हो, आजको भाटभटेनी सुपर मार्केट । आम उपभोक्ताको विश्वास र माया पाएरै हामी सफल भएका हौँ ।

२०३१ सालमा ४०० रुपैयाँ बोकेर काठमाडौं आएँ, २०४१ सालमा भाटभटेनी सुपर स्टोर खोले । निकै मेहनतले हाम्रो सानो व्यवसाय सफल भयो । देशभरिमा २७ वटा भाटभटेनी सुपर मार्केट सञ्चालित छन् । देशभरिमा १० हजारभन्दा बढी युवाहरुले रोजगारी पाएका छन् । यो आवमा १ अर्ब ५५ करोड २१ लख १३ हजार ४११ रुपैयाँ कर तिरेका छौँ । हाम्रो परिवारका सदस्यहरुले मात्रै यो आवमा ७ करोड ८८ लाख १४ हजार १०० रुपैयाँ आयकर तिरेका छन् । सामाजिक क्षेत्रको विकासका लागि मन फुकाएर आर्थिक सहयोग गरेका छौँ ।

मानिसको जीवनमा सफलताको पहिलो सूत्र इमान्दार, लगनशील, आत्मविश्वास र सकारात्मक सोच हो । यिनै सूत्रले आजसम्म मलाई डोहो¥याएर यहाँसम्म ल्याइपु¥याएको छ । मेरो सफलतामा इष्र्या गर्नेहरुले बेलाबेलामा मलाई हतोत्साही बनाउन विभिन्न भ्रामक हल्लाहरु चलाउने गरेका छन् । तर म देश, समाज र आम नागरिकप्रति इमान्दार छु । मैले सरकारी जग्गा कीर्ते गर्ने, नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने र देशलाई मार्ने काम आजसम्म गरेको छैन । त्यसैमा मलाई गर्व छ । एउटा नेपालीको छोराले गरेको प्रगतिप्रति आम नेपालीले पनि गर्व गरेका होलान् ।

एउटा पहाडे केटोले गरेको कर्मलाई देख्न नसक्ने, पार्टी कार्यालय बनाउन किन चन्दा दिइस् भनेर प्रश्न गर्नेहरुप्रति मलाई दया लागेर आउँछ । स्वार्थ भए त लुकेर दिन्थे होला, तर मेरो केही स्वार्थ छैन । आफूले विद्यार्थीकालदेखि अँगालेको विचारधाराको धरोहर एमालेलाई खुला हृदयले सहयोग गर्न पाउँदा गर्वले छाती फुलेर आएको छ । म भन्छु, हरेक कुराको सकारात्मक, नकारात्मक पाटो हुन्छ । तर, सफल व्यक्ति त्यो हुन्छ, जसले सकारात्मक सोच राख्छ ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्