काठमाडौं । नेपाली बजारमा पेट्रोलियम र डिजेल गाडीलाई पछि पार्दै इलेक्ट्रिक गाडी (इभी)को आयात ह्वातै बढेको छ । कम खर्च र सजिलो फाइनान्सिङ सुविधाले विद्युतिय गाडीको प्रयोग वृद्धि भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म २ हजार ५ सय १८ वटा विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा १७.९३ प्रतिशत अर्थात ३ सय ८३ वटाले बढी आयात भएको थियो ।
असोज महिनामा १०१ किलोवाटदेखि २०० किलोवाटसम्म १ सय ५९ वटा भित्रिएका छन् । यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका इभी गाडी १ हजार ५ सय ८२ वटा र ५० किलोवाटका इभी गाडी ७ सय ७२ वटा नेपालमा आयात भएका छन् ।
यस्तै, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ३ वटा र ३०० किलोवाटदेखि माथिका इभी २ वटा नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा छ । यी गाडी खरिद गर्न नेपाली व्यवसायीले असोज महिनासम्म विभिन्न देशमा ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ खर्च गरेका छन्, जसबाट सरकारले ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ को असोज महिनासम्ममा २ हजार १ सय ३५ वटा गाडी भित्रिएको थियो । सो इभीका लागि नेपाली व्यवसायीले ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ विभिन्न देशमा खर्च गरेका थिए भने सोमार्फत सरकारले २ अर्ब २४ करोड २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
राष्ट्र बैंकले अहिले इभि गाडी खरिद गर्नका लागि २० प्रतिशत नगद र बैंक तथा वित्तियबाट ८० प्रतिशतसम्म फाइनान्सको सुविधा दिएको छ । यदि एक करोड रुपैंया पर्ने इभी गाडी चढ्नु परेमा ग्राहकले २० लाख रुपैयाँ नगद बुझाए पुग्छ । बाँकी रकम बैंक तथा वित्तिय संस्थाले व्यवस्था गर्दछ । यसरी राष्ट्र बैंकले इभी गाडीमा लचिलो नीति लिएसँगै इभीको व्यापारमा बढेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट भइरहेको छ । यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ३९९ र भारतबाट ३३७ वटा भित्रिएका छन् ।
यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट १२ सय ८ र भारतबाट ३७४ वटा आयात भएको विभागको तथ्याङकले देखाएको छ ।
यस्तै, १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट १५४, जर्मनीबाट ४ र अमेरिकाबाट एक वटा गाडी भित्रिएका छन् भने २०१ देखि ३०० किलोवाट क्षमता भएका गाडी चीनबाट दुई र जर्मनीबाट एकवटा नेपाल भित्रिएको छ ।