Logo
Logo

रविलाई तत्काल थुनामुक्त गर्न रास्वपाको आग्रह


630
Shares

काठमाडौं । आफ्ना पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलबार काठमाडौंको बालुवाटार नजिक विरोध प्रदर्शन गरेको छ ।  

सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटार नजिक निषेधित क्षेत्र बाहिर विरोध प्रदर्शन गरेको हो ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको रास्वपाको आरोप छ । राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथि बिरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि भन्दै आन्दोलन गरिएको रास्वपाले जनाएको छ ।

प्रदर्शनका क्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले दुई तिहाइको सरकारले आफ्ना सभापतिलाई प्रतिशोधका आधारमा पक्राउ गरेको बताए ।

अर्यालले हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने भएकाले तत्काल थुनामुक्त गर्न आग्रह समेत गरे  । अर्यालले अदालतले दिने आदेशलाई रास्वपाले सम्मान नै गर्ने उल्लेख गरे । 

आफूहरूको आन्दोलन शान्तिपूर्ण भएकाले धरपकड नगर्न उनले आग्रह समेत गरे । यसैबीच रास्वपाले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने क्रममा आफ्ना ५० भन्दा बढि नेता तथा कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको दावी गरेको छ । कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्