काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफैले विक्री गर्ने भएको छ । एन्फाले मंगलबार माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै आफै टिकट विक्री गर्ने जानकारी दिएको हो ।
माउन्ट एभरेस्टले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार प्राप्त गरेको थियो । एन्फाका अनुसार टिकट जावलाखेल खेल मैदान, एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट लिन सकिने छ । टिकट विक्री बुधबार बिहान ८ बजेबाट सुरु हुने एन्फाले जनाएको छ ।
एन्फाले साधारण प्यारापिटतर्फ १० हजारमात्र टिकट विक्री गर्ने जनाएको छ । यस्तै, भिआइपीतर्फ एक जनाले दुईवटा मात्रै टिकट लिन पाउनेछन् ।
आइतबार भएको नेपाल र भातरबीचको सेमिफाइनलमा क्षमताभन्दा बढी टिकट विक्री भएको र त्यसको छानबिन जारी रहेको भन्दै एन्फाले सोमबार टिकट विक्रीमा रोक लगाएको थियो ।
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ ।