काठमाडौं । एप्पल ब्राण्डका मोबाइल लगायत अन्य उत्पादनहरुको नेपालमा आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट हो । यसले विगत १२ वर्षदेखि एप्पलका आइफोन लगायत अन्य ब्राण्डहरु बिक्री गर्दै आएको छ । १२ वर्षदेखि जेनेरेशन नेक्स्टले विक्री वितरण गर्दै आएको आइफोन र अन्य उत्पादन जेनेरेशन नेक्स्टबाट चौधरी ग्रुपले खोस्ने प्रयास असफल भएको छ ।
फोब्र्स पत्रिकामा विश्वका धनीमध्ये एक भनेर सूचीकृत पहिलो नेपाली व्यापारी विनोद चौधरीले एप्पलको आधिकारिक विक्रेता खोस्ने असफल प्रयास गरेका हुन् ।
नेपालमा विवादस्पद छवि बनाएका चौधरीले विश्वका विभिन्न ठाउँमा खर्बौँ लगानी गरेका छन् । त्यो लगानीको स्रोत उनले नेपाल सरकारलाई जानकारी गराएका छैनन् ।
नेपाल राष्ट्र बैंकले नविल बैंकमा रहेको उनको शेयर वापतको डिभिडेन्ट बंगलादेश पु¥याएको विषयमा तत्कालीन गर्भनर युवराज खतिवडाले अनुसन्धान गरेर डिभिडेन्ट रोकेका थिए । त्यतिबेला राष्ट्र बैंकले विनोद चौधरीसँग नेपालबाट बंगलादेश गएको डलरमा भूक्तानी गरेको लाभांश कहाँ कहाँ लगानी भएको छ, त्यसको विवरण माग गरिएको थियो ।
त्यसो त चौधरी ग्रुपको धन्दा नै अरुले गरेको राम्रो व्यापार जसरी पनि खोस्ने हो । गत वर्ष मात्र ज्योती ग्रुपबाट चौधरी ग्रुपले हिरो मोटर्स बाइकको आधिकारिता विक्रेता खोसेको थियो । अरुले गरेको राम्रो व्यापार देखी नसक्ने मानसिकताका विनोद चौधरी र उनका छोरा निर्वाण चौधरीको नियत माथि माडवारी समुदायले आलोचना गरेका छन् ।
एप्पल आइफोन १४ देखि नै उक्त ब्राण्डको आधिकारिक विक्रेता खोस्न हिँडेका निर्वाण चौधरी यस पटक पनि हिस्स परेका छन् । उनले गरेको बारम्बारको आग्रह त्याग्न नसकेर गत महिना मात्रै सिंगापुरबाट एप्पल कम्पनीका अधिकारीहरु नेपाल आएका थिए ।
त्यसक्रममा उनीहरुलाई प्रभावमा पार्न निर्वाण चौधरीले आफ्नो व्यापारको धाक मात्र दिएनन्, आफ्ना पिता विनोद चौधरी शक्तिशाली भएको पनि बताए । सांसद चौधरीको प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध भएको कुरा बताउन पनि उनी पछि परेनन् ।
स्रोतका अनु्सार गत महिना सिंगापुरबाट आएको टोलीलाई उनको सानेपास्थित चौधरी ग्रुपको मुख्यालय भ्रमण गराएका थिए । त्यहाँ नजिकै भिभान्त होटल रहेको चर्चा गर्दै चितवन र विभिन्न ठाउँमा लक्जरी होटल भएको सुनाए । सम्पतीको धाक लगाउने क्रममा भारतको ताज होटलसँग मिलेर भारतका विभिन्न सहरदेखि दुवई, श्रीलंकासम्म होटलमा लगानी गरेको बताए । त्यतिमै उनी रोकिएनन्, वारेन बफेटको लगानी रहेको विश्व प्रसिद्ध ब्राण्ड विवाइडीको श्रीलंका र बंगलादेशमा आफू आधिकारिक विक्रेता रहेको र नेपालमा पनि छिट्टै विवाइडीको आधिकारिक विक्रेता लिने तयारीमा रहेको गफ सुनाए ।
स्रोतका अनुसार सिंगापुरबाट एप्पलको बजार व्यवस्थापन निरीक्षण गर्न नेपाल आएका एप्पलका टोली निर्वाण चौधरीको गफ सुनेर अघाएका थिए । उनीहरुले भने, ‘यति धेरै शक्तिशाली यति ठूलो व्यापार सञ्जाल भएको चौधरी ग्रुपलाई एप्पलकै ब्राण्ड किन चाहियो, ब्राण्ड विस्तारमा चौधरी ग्रुपले ध्यान दिन सक्छ ?’ प्रत्युत्तरमा निर्वाणले भने, ‘आधिकारिक विक्रेताको अधिकार दिनोस्, नसोचेको परिणाम दिनेछौँ ।’
सुरुदेखि अन्त्यसम्म निर्वाण चौधरीको गफ सुनेर वाक्कदिक्क भएका एप्पलको टिमले भन्यो– ‘उसो भए अहिले आइफोन १६ सिरिज बिक्री गर्दै गर, त्यसको लागि हामी अनुमति दिन्छौँ । त्यसपछि हरौँला’ भन्दै उठे ।
नेपालको एप्पलको आधिकारिता विक्रेता खोस्न हिँडेको निर्वाण चौधरीले सुरुमा देशभरी आफ्नो २८ वटा आउटलेट भएको बताएका थिए । तर आइफोन १६ भने नेपालको आधिकाररिक विक्रेता जेनेरेशन नेक्स्टसँग् जम्मा ५० वटा मात्र खरिद गरेर आफ्नो शोरुममा डिस्प्ले गरेको छ । त्यो पनि बेच्न सकेको छैन । २८ वटा शोरुम भएको कम्पनीले ५० वटा मात्रै आइफोन १६ लैजानुले निर्वाणको ‘हालत धाकभन्दा धक्कु ठूलो, हिँड्ने बेला खुट्टा लु्लो’जस्तै भएको छ ।
सिंगापुरबाट एप्पलको टोली नेपाल आउने भएपछि एप्पलको आधिकारिक विक्रेता हामी हुन्छौँ भनेर निर्वाणले धेरै व्यवसायीलाई बताएका थिए । तर, एप्पलले आधिकारिक विक्रेता होइन, खुद्रे व्यापारीमा झारेपछि ‘केटोले तोरीको फूल देखेको छ’ जेनेरेशन नेक्स्टका एक कर्मचारीले दृष्टि अनलाइनलाई बताए ।