रवि लामिछाने सहकारी ठग हुन् कि होइनन् भन्ने कुरा पुष्टि हुन बाँकी नै छ । सूर्य थापाको संयोजकत्वमा गठित समितिले पनि लामिछाने ठग नै हुन् भनेर किटान गरेको छैन । १२ भाइमध्ये एक सञ्चार माध्यमले पनि लामिछानेलाई सोझै सहकारी ठग हो भनेर प्रमाणित गर्न सकेको छैन ।
बरु, विभिन्न सहकारीबाट जिबी राईले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा रकम ल्याएको पुष्टि भएको छ । त्यो टेलिभिजनका एक सञ्चालकको हैसियतले लामिछानेमाथि ठगीको आरोप लगाइएको छ । सहकारीको काम नै लगानी गर्नु हो, त्यसलाई ठगी भन्न मिल्दैन । लगानी डुब्यो भने त्यसका सञ्चालकहरु जिम्मेवार हुन्छन् ।
लगानी उठाउने कानुनी अधिकार सहकारीमा सुरक्षित छ । यो कुनै पनि प्रक्रिया पूरा नगरी रवि लामिछानेमाथि पूर्वाग्रह साँध्न खोज्दा लाखौं सहकारीपीडितहरुको रकम डुब्ने अवस्थामा पुगेको छ ।
देशभरिका आम सहकारीपीडितहरुको माग रवि लामिछानेलाई थुन्नुपर्छ भन्ने थिएन, उनीहरुले त आफूले गाँस काटेर जम्मा गरेको रकम फिर्ता पाउनुपर्छ भन्ने थियो । त्यसको जिम्मेवारी सरकारले लिन चाहेन र रविमाथि राजनीतिक पूर्वाग्रह साँध्न संसदीय छानबिन समिति बनाइएको हो भन्ने कुरा अहिले आएर पुष्टि भएको छ । जसका कारण अहिले लाखौं सहकारी पीडित पुर्पुरोमा हात राख्न विवश भएका छन् । यसमा दोषी सरकार हो ।
तर, सरकारले सहकारी ठगको आरोपमा केहीलाई जेलमा हालेर आफू उम्कन खोजिरहेको छ । सहकारीको मुख्य समस्या बचत फिर्ताको ग्यारेन्टी हो । त्यो सरकारले गर्न चाहँदैन, केवल प्रतिशोध साँध्न रविलाई बलिको बोको बनाउन खोजिरहेको देखिन्छ । जुन सरकारका लागि प्रतियुत्पादक हुने निश्चित छ ।
जनताले खोजेको सुशासन हो । रविले सुशासनको पक्षमा मुख खोलेपछि ठूला दलका नेताहरु आतंकित भए । रविले एक्सनमै आएर नक्कली भुटानी शरणार्थी काण्डको फाइल पुनः पल्टाउन खोज्दै थिए । त्यस क्रममा फरार अभियुक्त बेचन झा पक्राउ परे । जसको ‘कनेक्सन’ आरजु राणा देउवासँग थियो । बेचन झाले पोल्यो भने आफू पनि पक्राउ पर्ने डरले आरजुले शेरबहादुर देउवालाई लिएर बालकोट पुगे । त्यो पनि असार १५ दहीचिउरा खाने दिने थियो । त्यही दिन सत्ता ढाल्ने सहमति भयो र प्रचण्डको सत्ता ढल्यो ।
आम सहकारीपीडितको माग रवि लामिछानेलाई थुन्नुपर्छ भन्ने थिएन, उनीहरुले त आफूले गाँस काटेर जम्मा गरेको रकम फिर्ता पाउनुपर्छ भन्ने थियो । तर, सरकारले त्यसको जिम्मेवारी लिन चाहेन ।
त्यसो त आरजुले नक्कली भुटानी शरणार्थी काण्ड दबाउन पटकपटक नारायणकाजी श्रेष्ठको राजीनामा मागिन् । अन्ततः नक्कली भुटानी काण्डको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुको सरुवा भयो र आरजु जेल जानबाट जोगिइन् । नत्र सरकार गए जाओस् आरजुलाई जेल नपठाई छोड्दिन भन्ने अडानमा नारायणकाजी थिए ।
कुरा यतिमा मात्र कहाँ टुंगिन्थ्यो र ? अर्को डरलाग्दो गिरिबन्धु टि स्टेटको जग्गा घोटाला काण्ड त बाँकी नै थियो । त्यसमा केपी शर्मा ओलीको संलग्नता हत्केलाले छोपेर पनि नछोपिने खालको थियो । जसमा सर्वोच्च अदालतको आदेश एउटा प्रमाण थियो ।
रविले त्यो काण्डलाई पनि छोड्दिन भनेपछि बालकोटलाई १०४ डिग्रीको ज्वरो आयो । हिजो आफैँले उपप्रधान तथा गृहमन्त्री बनाएको ठेट्नाले संसद्मा ‘ताहुरमाहुर’ गरेपछि बालकोटलाई सह्य हुने कुरै थिएन । त्यसैको बदला लिन अहिले नभएको मुद्दा खडा गरेर रवि लामिानेमाथि ठूलो षड्यन्त्र गरिएको छ । ‘तै चोरमै चोर’भनेझैँ आखिर पालो सबैको आउँछ भन्ने कुरा ओलीले बिर्सिएका छन् ।
ओलीका लागि भोलिका दिनमा रवि सबैभन्दा ठूलो चुनौती भएर उभिने निश्चित छ । पोखरामा भेला भएका हजारौं रास्वपाको कार्यकर्ताको आक्रोश काठमाडौँसम्म आइपुग्दा ओलीलाई पनि थाम्न गाह्रो हुनेछ । प्रतिशोधको राजनीतिले कुनै दिन आफैँलाई पनि पोल्न सक्छ भन्ने । प्रतिशोध भनेको एक प्रकारको विकृत मनोरोग हो । अन्ततः त्यसले आफैँलाई सिध्याउन सक्छ ।
हिजो लोकतन्त्रका लागि लडेका स्वाभिमानी नागरिक आज कुशासनको भारीले थिचिएका छन् । काठमाडौंको वातावरण उकुसमुकुस बन्दैछ । दिन प्रतिदिन समस्याको चाङले आम नागरिक पिल्सिएका छन् । समाधानको साटो सरकार दमनको बाटो हिँड्दैछ । दमनले समाधान पनि समस्या निम्त्याउँछ । बंगलादेश अथवा श्रीलंकामा पनि दमनले सत्ता पल्टियो । जतिबेला ओली राजनीतिमा थिए, त्यति बेलाको राजनीतिक चेतना र आजको राजनीतिक चेतनामा जमिन आसमानको फरक आइसक्यो । हिजो धैर्यता गर्न सकिन्थ्यो, आज तुरुन्त परिणाम चाहिएको छ । हिजोको युवा भोलिका लागि सोच्थे, आजका युवा आजैको लागि सोच्न बाध्य छन् ।
आमूल परिवर्तनका लागि विगतमा संघर्ष गरेका पाइलाहरु अहिले थाकेको अवस्था छ । व्यवस्था परिवर्तन भए पनि पुस्तान्तरणसम्म अवस्था परिवर्तन नहुनुनै नेपालीका लागि दुर्भाग्य हो । हेर्दाहेर्दै हिजोका नेताको हैसियत आज कस्तो भयो सबैले देखेकै कुरा हो ।
भाषणले पेट भर्दैन, भोको पेटले ‘विद्रोह’ निम्त्यिाउँछ । हिजो एमालेले बजाउने ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ…’ भन्ने गीत आज अर्कैले बजाउन बाध्य छ । एमालेको हरेक आन्दोलनमा घन्कने उक्त गीत आज पनि अर्कैको आन्दोलनमा घन्किरहेको छ । जनता जताततैबाट उठिसके, यसको अर्थ परिवर्तन नजिकै छ । जनता जिस्क्याउन छाडिदेउ सरकार ।