भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताएका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर खासगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले धेरै वर्षदेखि आन्दोलन गर्दै आउनुभएको थियो । विभिन्न समयका सरकारहरुले त्यो आन्दोलनको एजेण्डा पूरा गर्नुको साटो दबाउन खोजेको गुनासो यो समुदायका अगुवाहरुबाट सुनिरहेको थिएँ ।’
‘२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ’, प्रचण्डले भने ।
नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उनले स्मरण गराए ।
उनले पछिल्लो समय आफ्नो नेतृत्वको सरकारले धेरै काम गर्न खोजेको देखेर सरकार ढालिएको उल्लेख गर्दै सरकारमा हुँदा सुरु गरिएको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अब पार्टीको मुख्य एजेण्डा हुने र २०८४ माओवादीको हुने बताए ।
सरकारबाट निस्केपछि आफूले एकपटक प्रदेश तहमा पुगेर जनताको अवस्था बुझ्ने प्रयास गरेको उल्लेख गर्दै उनले देशभरि जनताले माओवादी र प्रचण्डलाई मायाँ गर्न थालेको बताए ।