Logo
Logo
कविता

म सुनाखरी


तारा तामाङ ‘सुनाखरी’

378
Shares

म, फूल्छु ढुंगा माथि, चट्टान माथि
अनि ठूला–ठूला रुखहरुको चेपमा फूल्छु
वनभरि फूल्छु ।
सेताम्मे हुने गरि फूल्छु ।
भिरकी फूल, म सुनाखरी
आफ्नै रागमा सुर–ताल मिलाउँदै
पाउजूको झन्कार सँगै
पाउहरु चलाउँदै
हाँगा–हाँगामा शास्त्रीय संगीतको
धुनसँगै लहलहाउँदै
शीतल पवनसँगै
मेरा सुकुमोल पत्रदलहरु
नाच्ने गर्छन् ।
हे यात्री !
तिमी टक्क अडिएर !
हेर्छौं, प्रेमिल नयनले निर्निमेष मलाई

प्रफूल्लित हुँदै
मदहोस् हुन्छाैं।
चट्टानको माझबाट
अंकुराउन सफल भएकी
म सुनाखरी, म फूले
अब फूल्न मन, तिम्रै मनभरी छ
तिम्रै मानसपटललाई
ढकमक्क बनाउन मन छ ।
वन, जंगल र रुख अनि ढुंगा माथि
कतै भिरमा फूलेकी सुनाखरी म
अब तिम्रै मनभरि फूल्न मन छ ।
मेरो भिर, मेरो वन–जंगल सबै
तिमीभित्रै छ कतै ।
ती, अग्ला–अग्ला चट्टानहरु
तिम्रो वक्षस्थल जस्तै, ती फराकिला ढुंगाहरु
जहाँ म टाउको राखेर निदाउने गर्छु ।
जहाँ म आलिङ्नमा बाँधिने गर्छु ।
पहरा–पहरामा बयली खेल्छु ।
अनि, ती सुरिलो रुखहरुको चेपमा

जहाँ म हरेक पल
निर्धक्क फूल्ने गर्छु ।
म फूलेपछि
मेरा सुवासित अत्तरले तिमी मन मुग्ध हुन्छांै
मेरो रंगहरुले तिमी आफैं रङ्गिने छौं
त्यसैले त म कतै तिमी भित्रै फूल्न चाहन्छु ।
म सुनाखरी
म फूल्दै छु
म जिवित, प्रेमिल पलहरुसँग रमाउने
हरेक पल शीतल पवनसँगै मस्किने
हिउँको चिसो सिरेटो र बिहानीको किरणसँगै
लुकामारी खेल्दै तिम्रो आगमनलाई पर्खने ।
म सुनाखरी ।
कहाँ म ताजमहलको कल्पना गर्न सक्छु ?
म त शाश्वतः प्रेमको अनुपम प्रतीक्षा गरिरहेकी छु ।
म सुनाखरी
म सुनाखरी ।

०००
तारा तामाङ ‘सुनाखरी’
भिमेश्वर नगरपालिका, दोलखा
हाल काठमाडौं

प्रतिक्रिया दिनुहोस्