काठमाडौं । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते बिहान ११ बजेर ३७ मिनेटमा भाइटीका र किजा पूजा गर्ने निर्णय गरेपनि भक्तपुर नगरपालिकाका नेवार समुदायले भने आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका लगाउने भएका हुन् ।
भक्तपुर नगरपालिकाले आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः १ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउन नगरवासीलाई भनेको छ ।
त्यसलै भक्तपुर नगरपालिकाका नेवार समुदायले सोही अनुसार म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने लागेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ ।