काठमाडौं । हङकङमा जारी २०औँ हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।
कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध सानदार विजय प्राप्त गरेको हो । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा ५ विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन तथा एलेक्स रोसले १४ रन बनाए । यस्तै नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए। २ ओभर बलिङ गरेका जिसीले मात्र २४ रन खर्चिए । यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे। उनले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए ।
यसैगरी लोकेश बमले ३३ रन, विवेक यादव र रसिद खानले १२÷१२ रन बनाए। अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल ’बी’बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ ।