Logo
Logo

६ महिनाअघि विजयलाई आएको त्यो फोन


567
Shares

काठमाडौं । झण्डै ६ महिनाअघि अभिनेता विजय बराललाई चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा त हो तर त्यो दिन आएको फोन अलि फरक थियो ।

चलचित्रका सहायक भूमिकाहरूमा भ्याईनभ्याई गरी व्यस्त विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो। उनलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो। चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी।

सो प्रस्तावले विजय सुरुमा त अन्योलमा परे। केही दोधारको अवस्था भयो उनलाई। झण्डै दुई सातासम्म उनले प्रस्तावमा कुनै ठोस निर्णय गर्न सकेनन्। आफैँलाई विश्लेषण गरे, आफूभित्रको अभिनेतालाई प्रश्न गरे।

‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ। किनकि साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव विरलै हुने गर्छ। दुई सातासम्म कुनै निर्णय गरिनँ’, उनले सम्झना गर्दै भने, ‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो। एउटा समय पनि भयो, अनुभव पनि भयो। अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ। त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुसीसहितको शून्यता।’

यसो भनिरहँदा उनी आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कुले जीवन र सोही सपना पछ्याउँदै काठमाडौँ आएको समय स्मृतिमा पुगे। विजयका अनुसार काठमाडौँ छिर्दा उनीसँग अभिनयबारे केही भ्रम–मिश्रित सपना थिए। काठमाडौं आउँदा उनलाई लाग्थ्यो– उनी त्यो बेलाका चर्चित हास्य कलाकारभन्दा उम्दा बनेर निस्किनेछन्, कडा बन्नेछन्।

सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कुले जीवनमा त्यो बेलाका चर्चित नेताका आवाज नक्कल गर्थे। कक्षा ८ मा उनले पहिलोपटक आफ्नो क्षमता सार्वजनिक गरेका थिए।

त्यतिबेला उनले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य गरे।

चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइले उनको धेरै प्रशंसा गरे।

‘मेरो नाच र आवाजको नक्कल देखेर साथीहरूले ओहो! राम्रो गरिस् भनेर हौस्याए। त्यही चिजलाई मैले अभिनय ठानेँ किनकि गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो। साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो। मलाई ती तारिफले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उनले पुराना दिन ताजा गर्दै सुनाए।

जब उनी रङ्गमञ्चतर्फ मोडिए तब उनले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाए। उनलाई अभिनय एउटा पोखरी होइन, महासागर रहेछ भन्ने लाग्यो।

‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखेँ। त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ’, केही गम्भीर हुँदै उनले भने।

उनी आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्छन्– ‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ। तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ। सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ।’

भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उनी बताउँछन्। त्यो कार्यशाला उनका लागि जीवनको कोसेढुङ्गा हुन पुग्यो। त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्ने एमके रैनाबाट उनी प्रशिक्षित भए।

‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ। यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ, पढाइरहिएको छ। समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ। सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय। त्यहाँबाट बल्ल मेरो चेत खुल्यो’, उनले भने।

बीचमा उनको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो। उनको बुबा बैंकका जागिरे। कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढिरहेका थिए। यद्यपि बुबाले भने उनलाई यही बन्नुपर्छ भनेनन्।

बुबाले केही नभनेको भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैँ बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहन्थे। हजुरबुबा विजयलाई भन्थे, ‘जागिर गर है जागिर गर, पछि गाहे हुन्छ। बाले यसरी पालेका छन्। तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस्।’

उनले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिँदै आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिइराखे। यो समयमा कैयौँ नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाएका थिएनन्। उनले पहिलो चलचित्रका रूपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाएनन् तर ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाए। उनी छोराको कामबाट खुसी भए।

अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन। ‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन। नाटक गरिरहँदा खास उहाँले थाहा पाउनुभएन। पहिलो चलचित्र छड्के मा अभिनय गर्दा पनि उहाँलाई म कलाकार बनेको पत्तो भएन। उहाँले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो’, बरालले भने।

‘कबड्डी’पछि उनी त्यसका तीन श्रृङ्खलासहित दर्जनौँ चलचित्रमा अभिनेता बनिसकेका छन् भने आजका मितिमा उनी नेपाली सिने जगत्को चिरपरिचित अनुहार बनिसकेका छन्। उनले अधिकांश सहायक भूमिका नै गरे।

सबैभन्दा बढी चर्चा उनले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुलेका छन्। उनी सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित छन्। ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको बताउँछन्।

यो चलचित्रमा उनी एकल बाबुको भूमिकामा छन्। उनी पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्किए। सहायक भूमिका उनलाई सजिलो लाग्छ। तर यो चलचित्रको भूमिका फरक र गम्भीर छ। शीर्ष भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उनमै छ। यसका लागि धेरै मिहेनत परेको उनी सुनाउँछन्।

चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारीगरे। यो १० दिनमा उनले गन्धर्वका हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे। उनले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिके। पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्नाका लागि आफूले यस्तो गरेको उनको भनाइ छ।

‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका विरलै प्राप्त हुन्छ। यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थेँ। त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रूपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु। पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु’, उनले भने।

आज उनी स्वयं कसैका छोरा त हुन् नै, सँगसँगै आफू पनि एक सन्तानको बाबु बनिसकेका छन्। यो अनुभव पनि उनले पर्दामा प्रयोग गरे। अनुभव पनि अभिनयका लागि एकदमै महत्त्वपूर्ण हुने उनी बताउँछन्। ‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ’, उनले भने।

उनी आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्छन्– ‘अहिले म बुबाको भाव बुझ्छु। एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो। अहिले पनि हिरो नै हो। कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो। अहिले मेरो छोरो भयो। उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ। उसका लागि म आज हिरोजस्तै भएको छु। म पुग्नेबित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ। मेरो बुबाको सवालमा पनि त्यही नै थियो’, उनले भने।

आज बुबाको सबै भावना उनलाई महसुस हुन्छ। उनी भन्छन्, ‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ हुन्छ। छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ।’

उनी बुबा घुमघाममा रुचि राख्छन्। त्यसैले विजय धेरै कुरा पूरा गर्न नसके पनि घुम्ने कुरालाई आफैँ बुझ्दै पूरा गर्ने प्रयास गर्न लागिरहेका छन्। बुबालाई आजकल गहिरिएर बुझ्न थालेदेखि विजयले बाबुहरूले सन्तानसँग आफ्ना व्यक्तिगत रहरहरू मुख खोलेर भनिनहाल्ने गरेको थाहा पाएका छन्।

‘मैले केही समय उहाँका रहरहरू सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो, तँलाई हामीले बच्चामा सोध्यौँ र’, विजयले आफ्ना बाबुले भनेको कुरा सम्झिए।

‘उहाँको जवाफले बाबुहरू चाहिँ आफ्नो सन्तानले नसोधी केही दिओस् भन्ने चाहाना राख्नुहुँदो रहेछ, भलै उहाँहरू त्यसका लागि आफैँ सक्षम हुनुहोस्। बाबुहरूले कहिले पनि म दुःखी छु भन्नु हुँदैन तर अपेक्षाचाहिँ भइराख्ने रहेछ’, विजयले भने, ‘यो कुरा हामीले बुझ्ने हो भने बडा गज्जब हुने रहेछ। नबुझ्दा दुःख मान्नुहुँदो रहेछ। तर दुःख लागेको कुरा पनि व्यक्त नगर्ने बानी हुँदोरहेछ। अबचाहिँ बुबाका इच्छालाई सोचेर सम्झेर पूरा गर्ने बाटोमा लागेको छु। बाबुको भावनाहरू कस्तो हुन्छ मैले बुझ्न थालिसकेको छु।’

आफ्नो चलचित्रले छोराहरूमा यही भावना जागृत गराउन उनको विश्वास छ। ‘बाबुहरू आफ्नो पूरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटि बाबुसँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ। बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ’, उनले भने, ‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ। बाबुसँग सम्बन्ध खुलेर जान्छ। हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ।’

चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाका दिनदेखि हलमा प्रदर्शन भइरहेको छ। यो चलचित्रप्रति विजय एउटा कलाकारका रूपमा निक्कै आशावादी छन्। ‘पूर्ण बहादुरको सारङ्गी’बाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित हुने उनको आशा छ।

प्रतिक्रिया दिनुहोस्