काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताएका छन् । नेपाल संवत् ११४५ का अवसरमा ‘नेपाल संवत् ११४५ मूल समारोह समिति’ले वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममाबोल्दै उनले सो बताएका हुन् ।
उनले भने, ‘नेपालले आफ्नो परिचय बनाउन संस्कृति, कला, मूर्तिकला, काष्ठकला र चित्रकला नृत्यकला, वाद्यवादन र गायनलगायत विधाले योगदान गरेका छन्, यी सबैमा मौलिकता छ, मुलुकको सबैभन्दा समृद्ध मौलिकता नेपाल भाषा र संस्कृतिमा छ ।’
प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शङ्खधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफूू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको रु १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले रु १५ लाख रकम दिएको जानकारी पनि गराए ।
मुलुक भौगोलिक विविधता, वनस्पतीय विविधता, जैविक विविधता, सामाजिक विविधता, भाषिक विविधता र सांस्कृतिक विविधतायुक्त भएको बताउँदै प्रधानमन्त्रीले यी सबै विविधतामध्ये समृद्ध संस्कृति नेवार संस्कृति भएको उल्लेख गरे । उनले नेवार संस्कृति कुनै एउटा जाति विशेषको मात्र नभएर सिङ्गो देशको संस्कृति बताएको बताए ।
प्रधानमन्त्रीले मुलुकका मौलिक, भाषा, संस्कृति र साहित्यको विकासका खातिर राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र नेपाल भाषामा समाचार तथा विविध कार्यक्रम प्रकाशन एवं प्रसारण गर्दै आएका जानकारी दिए ।
प्रधानमन्त्रीले सरकार गरिबको सुखदुःखको साथी बन्दै आएको बताउँदै भने, ‘जो गरिब छ, जो ऋणी छ, उसलाई ऋणमुक्त गर्नुपर्छ ।’