काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा लिइन्छ । यो पर्वले नेपाली मौलिक परम्पराको अर्को परिचय पनि दिएको छ । त्यो भनेको देउसी भैलो खेल्नु ।
देउसी भैलोको आफ्नै विशेषता छ । त्यसको आफ्नै लय छ । एउटाले भट्याउने र अरु सहभागीले देउसी रे वा भैलो भन्ने गर्छन् । तर पछिल्ला दिनमा देखासिकी बढ्दै गएको छ । चर्को स्वरमा गीत बजाएर ध्वनी प्रदुषण नै हुने गरी युवाले सस्कृतिको नाममा विकृति फैलाइरहेको गुनासो व्याप्त छ ।
आधुनिकताको नाममा देउसी भैलो गाउने तरिका बदलिएको छ । खासगरी देउसी पुरुष र भैलो महिलाले खेल्ने परम्परा भए पनि शहरी क्षेत्रमा त्यो विशेषता समेत हराएको छ । विगतमा राम्रो तयारी गरेर युवा पुस्ताले देउसी भैलो खेल्थे । पहिले पहिले पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाउँथे, देउसी भेलो खेल्थे । आर्शिवाद थाप्थे र आफ्नो गच्छे अनुसार, दक्षिणा दिन्थे । आजकल भने तोकेर नै दक्षिणा माग्ने प्रवृत्ति मौलाएको छ । देउसी भैलोबाट उठेको रकम आफुखुसी खर्च गर्ने वा सामाजिक काममा उपयोग गर्ने भन्ने बारेमा पनि फरक फरक मत छ ।
देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो । विद्युतीय सामग्रीको प्रयोग गरेर खेल्दा परम्पराको जगेर्ना नहुने आम गुनासो रहँँदै आएको छ । नयाँ पुस्तालाई मौलिक संस्कार र पहिचानका बारेमा सचेत गराउनुपर्ने मत पनि उत्तिकै बलियो बन्दै गएको छ ।
सास्कृतिक पक्ष कम, मनोरञ्जन बढी हुँदै जाँदा देउसी भैलोको परम्परागत महत्व समेत ओझेलमा परेको छ । स्थानीय लोकबाजाको प्रयोगमा कमी आएको छ । खासगरी पैसा संकलनको मात्रै माध्यम बनाइँदा त्यसले विकृति फैलाउन सहयोग पु¥याएको देखिन्छ । तिहारलाई पारिवारिक सम्बन्ध र संस्कारको पर्वका रुपमा लिइन्छ । यमपञ्चकका रुपमा चिनिने यो पर्व पाँच दिन मनाइन्छ । खासगरी धन दौलत वैभव र सुखसँग जोडिनेभएकाले पनि यस पर्वलाई समृद्धिको पर्वका रुपमा पनि लिइन्छ ।
काग, कुकुर, गाई, गोरुको समेत पूजा गरिने भएकाले तिहारलाई प्रकृतिसँग एकाकार भएको पर्वका रुपमा हेरिन्छ । यस पर्वको महत्वसँगै सयपत्री, मखमली र गुर्दौली फूल, र सेल रोटी पनि सँगै जोडिएर आउँछ । आधिकारिक रुपमा केही तथ्य प्रमाण नभए पनि नेपालको मध्यकालदेखि देउसी भैलो सुरु भएको किंवदन्ती छ । जुम्लाको खस राज्य र बलीसँग यसको सांस्कृतिक पक्ष जोडिएको समेत बताइन्छ ।
देउसी रे वा देवश्री यसलाई देवताको आर्शिवादका रुपमा लिइने सांस्कृतिक मूल्य र मान्यता छ । परम्परादेखि नै तिहारमा गाइने देउसी र भैलोले नेपाली समाजलाई उत्सवमय बनाएको छ । यसलाई उत्सव, उल्लास र उत्साहको गीतका रुपमा पनि लिइन्छ । तर, संस्कृति जगेर्नाको नाममा भइरहेको गलत क्रियाकलापलाई भने छुट दिन नहुने मत पनि उत्तिकै छ । देउसी र भैलो नेपाली समाजमा सांस्कृतिक धरोहरका रुपमा परिचित छ । ग्रामीण तथा शहरी क्षेत्रका प्रत्येक टोल टोलमा खेलिने भए पनि पछिल्ला दिनमा विकृति बढेको साहित्यकार डा. घनश्याम पुडासैनीले बताए ।
'म ७२ वर्षको भए, पहिले देउसी भैलो खेल्दा मौलिक स्वरुपमा हुन्थ्यो । अहिलेको समयमा मौलिक परम्परालाई छाडेर शिष्टताभन्दा आधुनिकता केन्द्रीत छ । मौलिकता हराएको छ', उनले भने । अहिलेको युवा पुस्तामा तिहारमा देउसी भैलोभन्दा आधुनिक गीततिर केन्द्रीत भएर हिँडेको देखिएको उनको भनाइ छ ।
लेखक देवेन्द्र अर्यालले पहिलेको देउसी भैलो संस्कृति, मूल्य तथा मान्यतासहितको हुने गरे पनि पछिल्ला दिनमा आधुनिकताको नाममा विकृति बढ्दै गएको बताए । 'देउसी भैलोको आफ्नै लयको गीत हुन्छ । वेषभूषा पनि त्यस्तै हुन्थ्यो । तर पछिल्ला दिनमा मोबाइल, स्पिकर बजाउने चलन मौलाएको छ । आधुनिक भनिएका गीत सङ्गीतमा केन्द्रीत भएको छ', उनले भने ।
सम्पदा संरक्षणमा लाग्दै आउनु भएका टोखाका मनिराज डङ्गोल पनि देउसी र भैलोको नेपाली मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गर्छन् । 'पहिलाको देउसी भैलो घर घरमा गई मौलिक रुपमा खेलिन्थ्यो । अहिले मौलिकभन्दा भद्दा बढी हुन थालेको छ', उनले भने ।
यमपञ्चकको कथामा भट्याएर खेलिने देउसी भैलो आजकल रेकर्ड गरिएको गीत बजाउने मात्रै गरिँदा मौलिकपन हराउँदै गएको छ । नेपाली, कला, संस्कृति र परम्परासँग जोडिएको यस पर्वलाई विकृति र विसङ्गतिमुक्त बनाउँदै भावि पुस्तालाई समेत जानकारी गराउनु आवश्यक छ । सांस्कृतिक अतिक्रमण बढ्दै गएको सन्दर्भमा तिहार र यससँग जोडिएको मौलिकतालाई विस्तार गर्नु जरुरी छ ।