Logo
Logo

बहुआयामिक बौद्धिक व्यक्तित्व मोहनमान सैंजुको सम्झनामा 


बुद्धिप्रसाद शर्मा, तानसेन

13.4k
Shares

डा. मोहन मान सैँजु पाल्पा तानसेन भगवती टोलका प्रतिष्ठित व्यापारी घरानाका ललितमान सैंजुका सात छाेराहरू मध्ये कान्छा छोराका रुपमा जन्मिएका थिए । उनको कक्षा तीनसम्मको प्रारम्भिक शिक्षा तानसेनकै महाचैत्य बिहारस्थित शील पाठशालामा र कक्षा ४ देखि म्याट्रिकुलेसन एसएलसी तहसम्म बहुचर्चित जनता विद्यालय (जे.भी.टी स्कुल) मा भएको थियो । त्यसताका जेभीटी मिडिल स्कुल थियो । विद्यालयले आठ कक्षा उत्तीर्ण गरेकालाई भारतको उत्तर प्रदेशको म्याट्रिकुलेसन बोर्डको कोर्स पढाएर बोर्डको परीक्षा दिन पठाइन्थ्यो । 

वि.स. २००९ मा पहिलो पल्ट आदित्यमान श्रेष्ठ र नीरकुमार क्षेत्री, २०१० मा सात जना र २०११ मा डा. मोहनमान सैंजु सहित १४ जनाले बोर्डको परीक्षा उत्तीर्ण गरेका थिए ।  सानैदेखि चलाख उनले तानसेनमा विद्यालयको तर्फबाट र स्वयंले नाच्ने, गाउने, बजाउने, पुस्तकालय खोल्न रुचि राख्ने, दुर्व्यसनीविरुद्ध सामाजिक  कार्यहरूमा संलग्न भएर अरुभन्दा कम उमेरमै बहुप्रतिभा प्रदर्शन गर्थे । उनको प्रतिभालाई देखेर गुरुजनले हामीलाई त्यस्तै बन्न प्रोत्साहन दिनुहुन्थ्यो । त्यसबेला म त्यसै स्कुलमा दुई तीन कक्षामा अध्ययन गरेको सम्झना छ । 

म्याट्रिकुलेसन पढाई सकेर उच्च शिक्षाका लागि भारतको  बनारस गएर त्यहीको बनारस हिन्दु विश्वविद्यालयबाट स्नातक गरे । आफ्नै देशको शिक्षा, सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था समेतको ज्ञान हुने र देशकै निम्तिसमेत केही गर्न सकिन्छ होला भन्ने इच्छा राखेर नेपालकै त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयमा स्नातकोत्तरको अध्ययन गरी २०२२ साल (सन १९६२ ) उच्चतम् प्रतिशतमा परीक्षा उत्तीर्ण मात्र गरेनन् । सँगसँगै जस्तो कानुन विषयमा स्नातकको पढाई पनि पूरा गरे ।

त्यसपछि संयुक्त राज्य अमेरिका र बेलायतका विश्वविद्यालयमा गएर विद्यावारिधि गर्ने योजना बनाउदै गर्दा सन १९६३ अर्थात २०२३/२४ सालमा  तत्कालीन सरकार र सचिव अर्थशास्त्री डा. भेष बहादुर थापाको सल्लाह र आग्रहमा कृषि विकास लक्षित बहुप्रतिक्षित क्रान्तिकारी भूमिसुधार कार्यक्रमको  कार्यान्वयन गर्ने  स्पेसल अधिकारी र १९६७ मा प्रमुख निर्देशकको जिम्मेवारी लिएर कुशलता देखाए । आफ्नो विषय क्षेत्रमा अब्बल बन्न पीएचडी गर्ने धोको बाकी नै थियो । 

त्यसैले १९६९ मा अमेरिकाको क्यरिलोना विश्वविद्यालय गएर विद्यावारिधी गरे र देशमा फर्के । उनी त्रिभुवन विश्वविद्यालयको रेक्टर, सेदाको निर्देशक र राष्ट्रिय सेवा दलको शैक्षिक कार्यक्रमको नेतृत्वदायी जिम्मेवारी समेत लिए । यसै क्रममा सन १९७६मा राष्ट्रिय योजना आयोगको सदस्य र १९८३ देखि १९८८ सम्म योजना आयोगकै उपाध्यक्ष भए । त्यसको लगत्तै सन् १९८८ देखि १९९१ सम्म संयुक्त राज्य अमेरिकाको लागि राजदूत समेत भएर कुटनीति क्षेत्रमा समेत रास्ट्रलाई सेवा प्रदान गरे । पछिल्ला दिनहरुमा गरीवी निवारण, रूम टुरीड आदि धेरै सस्थाहरुमा रहेर सेवा प्रदान गर्दै आएका थिए ।

अन्त्यमा, डा. मोहनमान सैंजु र म एउटै विद्यालय जेभीटी स्कुलमा पढेको हो । उनले २०११मा माध्यमिक कक्षा उत्तीर्ण गरेको हो झण्डै ९ वर्षपछि २०२०मा मैले एसएलसी गरेको हो । तथापि उनको बारेमा गुरुहरुले उदाहरण दिने गरेको र पारिवारिक सम्बन्धका कारणले  सादर उनलाई दाजु भनेर सम्बोधन गर्ने गरेको छु । उनले आफूलाई  अध्यापन गर्ने गुरुजनहरु, स्कुल सम्बद्ध शिक्षक तथा प्रधानध्यापकहरु र स्कुललाई माया गर्थे ।  मैले २०२२/२३ सालदेखि जेभीटीमा शिक्षक र प्रअ भएर काम गर्दा रजत, स्वर्ण, हीरक जयन्ती आदि उत्सवहरुमा तानसेन आएका बेला उपस्थित भएर वा फोन गरेर सम्पर्कमा भइरहन्थे । 

जीवनमा उनले कुनै पनि जिम्मेवारीलाई चुनौतीका रुपमा लिने र सफलता हाशिल गर्न कत्तिपनि हार नमान्ने उनको स्वभाव र खुवी  मान्न सकिन्छ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेर आशा गरिएका  डा. मोहन मान सैजुका बारेमा  माथि शुरुमै भने जस्तै उनि नेपालका अर्थशास्त्री, शिक्षाविद, कुटनीतिज्ञ, वहुप्रतिभाशाली, वहुआयामिक व्यक्तित्व थिए । जीवनभर सक्रीय रहेर पछिल्ला दिनमा पार्किन्सनको कारणले बिरामी परे । अन्तत: आफ्नै निवासमा २०८१ कार्तिक १३ को अपरान्ह ५  बजे तिर सुशिक्षित श्रीमती, एक छोरा र छोरीलाई छाडेर निधन भयो ।

परिवार ,शुभचिन्तक र समस्त नेपालका उनि सम्बद्ध निकाय र संस्थाहरु स्तब्ध भए । उनको निधन राष्ट्रका निम्ति अपूरणीय क्षति हो । यस दु:खद घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै  स्वर्गीय डा. मोहन मान सैंजुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्