काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान गरेका छन् । नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा हुने वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन् । अन्य देशबाट शहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।
शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्नेछन् । सो क्रममा उनले नेपालले वस्ति विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनेछन् ।
त्यस्तै सहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र शहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सिंह कार्यक्रममा सहभागी भएर शनिवार बिहान साढे १० बजे स्वदेश फर्किनेछन् ।