काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि पोखरामा विरोध प्रदर्शन गर्दैछ ।
लामिछानेलाई आज म्याद थपका निम्ति कास्की जिल्ला अदालत पेस गर्ने तयारी हुँदै गर्दा रास्वपाले भने आज पोखरा लक्षित प्रदर्शन गर्ने तयारी गरेको हो । त्यसका निम्ति रास्वपा नेताहरू राजधानीसहित विभिन्न स्थानबाट पोखरा केन्द्रित भइरहेका छन् । रास्वपाले बिहान १०ः३० बजे घण्टीघर जिरो किलोमा भेला हुन आह्वान गरेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेको बयान भने पुरा भएको छ । लामिछानेसँग अनुसन्धान अधिकृतहरूले ९ दिनसम्म बयान लिएका थिए । बयानमा लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।
लामिछानेसँगै सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।