जनकपुरधाम । सर्लाहीको बयलवासस्थित एक पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत भेटिएका छन् । गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत भेटिएका हुन् । उनीहरूको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरीबाट बाहिर निकालेको छ ।
सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा मंगलबार बिहान डुबेको थियो । जसमा दुईजना बेपत्ता भएका थिए ।
कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।
घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाइएको थियो ।
कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।